मंसिरको पहिलो हप्तामा देशभर विपद्का घटना बढ्यो, सावधानी अपनाउन आग्रह
आगलागी प्रमुख कारक, ५ करोड नजिक क्षति
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
791
Shares
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरएमए) को तथ्याङ्कअनुसार मंसिरको पहिलो हप्ता (१ गतेदेखि ६ गतेसम्म) देशभर १०० वटा विपद्का घटनाहरू घटेका छन्, जसमा ७८ वटा आगलागीका घटनाहरू प्रमुख कारक बनेका छन्।
मंसिर ६ गते देशभर १८ विपद्का घटना घटे, जसमध्ये १५ वटा आगलागीका थिए। त्यस दिन उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई/दुई घटना भए भने मकवानपुर, चितवन, कास्की र कैलालीमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको थियो। सोही दिन मनाङको नासो गाउँपालिका-१ स्थित बेँसीसहर–चामे सडकखण्डमा सुक्खा पहिरो खसी बाटो अवरोध भयो भने धनुषा र डडेल्धुरामा सर्पदंशका घटना भए। ६ गते विपद्का कारण दुई जना घाइते भए र रु ५३ लाख सात हजार ५५० बराबरको अनुमानित क्षति भएको थियो।
त्यसैगरी, मंसिर ५ गते देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए। त्यस दिन पाल्पाको रिब्दीकोट–३ मा सुक्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको थियो भने सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइतेहरूलाई अस्पताल पुऱ्याइएको थियो।
मंसिर ४ गते पनि देशभर २० विपद्का घटना घटेका थिए, जसमा १३ वटा आगलागीका थिए। रुपन्देही र कास्कीमा मात्रै तीन/तीनवटा आगलागीका घटना भएका थिए। यस दिन विपद्मा परेर ११ जना घाइते भए भने अनुमानित रु १३ लाख ६५ हजार बराबरको क्षति भयो। त्यस दिन जनावर आक्रमणका पाँच घटना समेत घटेका थिए।
प्राधिकरणको विवरणअनुसार मंसिर ३ गते १६ विपद्का घटना घट्दा १२ वटा आगलागीका थिए र रु दुई करोड ७६ लाख ३१ हजार बराबरको ठूलो क्षति भएको थियो। मंसिर २ गते कुल १७ विपद्का घटना हुँदा १३ आगलागीका घटना भए भने रु ३१ लाख १४ हजार बराबरको भौतिक क्षति भएको थियो। मंसिर १ गते भने कुल १० विपद्का घटना घटेकामा सबै आगलागीकै थिए र रु १४ लाख ९३ हजार बराबरको धनमाल जलेर नष्ट भएको थियो।
प्राधिकरणले आगजनीका घटनाहरू असावधानी र विद्युत् सर्टका कारण भइरहेको बताएको छ। जनचेतनाको अभाव एवं लापरवाहीका कारण ठूलो क्षति हुनपुगेको भन्दै प्राधिकरणले आगो बाल्दा र ज्वलनशील पदार्थ चलाउँदा सावधानी अपनाउन र सामान्य पूर्वसतर्कता अपनाएर भौतिक सम्पत्ति जोगाउन सबैलाई आग्रह गरेको छ।