एफवान सफ्ट ग्रुपद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ७५ लाख सहयोग
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
1k
Shares
ललितपुर। एफवान सफ्ट ग्रुपले नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु.७५ लाख सहयोग गरेको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनासम्बन्धी कार्यका लागि सरकारले स्थापना गरेको उक्त कोषमा एफवान सर्टले सहयोग उपलब्ध गराएको हो।
एफवान सफ्ट इन्टरनेसनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा यी कम्पनीहरूको संयुक्त योगदानमा यो सहयोग उपलब्ध गराइएको हो।
युवा नेपालीहरूद्वारा स्थापित र आज पनि सक्षम तथा ऊर्जाशील युवा जनशक्तिद्वारा सञ्चालन एफवान सफ्ट ग्रुपले देशप्रतिको दायित्व र जिम्मेवारीलाई गम्भीरतापूर्वक अनुभूत गर्दछ। एफवान सफ्ट ग्रुपका कर्मचारीहरू देशको भविष्यप्रति गहिरो सरोकार राख्ने युवाहरू हुन्। उनीहरूको जिम्मेवारी बोध, योगदान र सकारात्मक पहलबाट प्रेरित भई समूहले पुनर्निर्माणको यस यात्रामा राष्ट्रसँग दृढतापूर्वक हातेमालो गर्ने निर्णय गरेको हो।
यसबारे जानकारी दिँदै एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले राष्ट्रको पुनर्निमाणको यात्रामा आफूहरूले जिम्मेवारी बोध महसुस गरेको बताए। ठकुरीले भने, “नेपाल पुनर्निर्माणको यात्रामा हामी आशा, जिम्मेवारी र साझा उद्देश्यसहित एकताबद्ध छौँ।
जेनजी आन्दोलनले नेपाली समाज, अर्थतन्त्र र नागरिक जीवनमा पारेको गहन प्रभावको पृष्ठभूमिमा राष्ट्रिय पुनर्निर्माण र स्थायित्वका लागि सँगसँगै हातेमालो गर्न एफवान सफ्ट ग्रुप प्रतिबद्ध रहेको छ। यसमार्फत सङ्गठन, संस्थान तथा व्यक्तिबिचको समन्वय र सहकार्य नै राष्ट्रिय पुनरुत्थानको बलियो आधार हो भन्ने विश्वास एफवान सफ्ट ग्रुपले लिएको छ।