arrow

घनश्याम भुषालको अभियान र नेकपा संयुक्तबीच एकताको घोषणा, चुनाव चिन्ह हँसिया रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
ghanashayam-ekata.jpg

काठमाडौं। आज एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ। बिहीबार पत्रकार सम्मेलनमार्फत दुई पार्टीबीचको एकता घोषणा गरिएको हो।

एकता घोषणा पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी पुनःगठन अभियानका संयोजक घनश्याम भुषालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेताहरूले कम्युनिष्ट आन्दोलनप्रति गौरव गर्नुपर्ने बताए। उनले भने, “नेपालको आधुनिक राजनीतिकमा योगदान गरेको एउटा शक्ति भन्ने हो भने त्यो कम्युनिष्ट आन्दोलन हो। कम्युनिष्ट पार्टी हो। त्यस अर्थमा केहीपनि इमान्दार कम्युनिष्टले लाज मान्नुपर्ने छैन्। गौरव गर्नुपर्नेछ। त्यस अर्थमा हामी जायज सन्तान हौ। आजको संविधान, लोकतन्त्रप्रति गौरव छ। कुनै हिच्किचाउनुपर्ने काम गरेको छैन।”

उनले सामन्तवाद ढलेपछि र राजतन्त्र उन्मूलनसँगै नयाँ क्रान्तिको युगमा प्रवेश गरेका कम्युनिष्ट पार्टीहरूले समाजवादी कार्यदिशा, समाजवादी राजनीतिक र समाजवादी सङ्गठन बुझ्न नसकेको बताए। उनले भने, "दुर्भाग्यवश हाम्रो नेतृत्वले त्यो कुरा बुझ्न सकेन। अरु पार्टी जस्तै पुँजीवादीसँग उठबस गर्न थाल्यो।” नेता भुसालले एकीकृत समाजवादी एमालेबाट विभाजन भएर कांग्रेस र माओवादीका पछि अल्मलिएर बसेको आरोप लगाए।

पार्टी घोषणामा चुनाव चिन्ह हँसिया रहने र दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पनि भएको छ। माक्र्सवाद–लेनिनवाद तथा मानव जातिको स्वतन्त्रता र मुक्तिका मूल्यहरूको मार्गदर्शनमा कम्युनिष्ट आन्दोलनको अभ्यास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने र विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने सहमति भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ