नगरपालिकाका पूर्व मेयरसहित ११ विरुद्ध विशेष अदालतमा मुद्दा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
881
Shares
जनकपुर । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जना पदाधिकारी र एक निर्माण कम्पनीविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले नगर प्रमुख गोइत, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध मुद्दा दायर गरेको छ। साथै, इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालि र उक्त कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवविरुद्ध पनि मुद्दा दायर भएको हो।
आयोगका अनुसार उनीहरूले आपसी मिलेमतोमा लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणसहित सौन्दर्य निर्माण गर्ने आयोजनामा २९ लाख ४४ हजार १३७ रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ।
अनियमितताको विवरण: ७५ लाख रुपैयाँको उक्त आयोजना निर्माणका लागि प्रतिस्पर्धामा सेट स्क्वायर कन्सट्रक्सन प्रालिले ४२ लाख ७४ हजार ५५१ रुपैयाँ र इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिले ७२ लाख २१ हजार ७३० रुपैयाँ बोलकबोल गरेका थिए। कम कबोल गर्ने सेट स्क्वायर कन्सट्रक्सनलाई जिम्मा दिनुपर्नेमा आपसी मिलोमतोमा महँगो बोलकबोल गर्ने इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिलाई निर्माणको जिम्मा दिएर २९ लाख ४४ हजार १३७ रुपैयाँ हानिनोक्सानी गरेको अख्तियारको दाबी छ।
नगर प्रमुख गोइतसहितका व्यक्तिहरूले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरेको पाइएकोले अख्तियारले जनही २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ।