निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
917
Shares
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहने बताउँदै सेनालाई आवश्यक निर्देशन दिएकी छन्।
भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय (जङ्गी अड्डा) को निरीक्षणका क्रममा प्रधानमन्त्रीले सेनालाई राष्ट्रिय अभिभारा पूरा गर्न स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभियानमा प्रमुख भूमिका निर्वाह गर्न स्पष्ट गरिन्। उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण र सहयोग गर्न तथा सबै राजनीतिक दलका गतिविधि बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन्।
प्रधानमन्त्रीले सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्न र निर्वाचनका क्रममा नागरिकको ज्यान जाने वा घाइते हुने अवस्था आउन नहुनेमा जोड दिइन्। साथै, उनले जेनजी आन्दोलनका क्रममा लुटिएका र हराएका हातहतियारको खोजतलाससहित नियन्त्रणमा लिन प्रहरीसँग सहकार्य गर्न र फरार अपराधी पक्रन खटिएका प्रहरीलाई सहयोग गर्न पनि निर्देशन दिइन्। जङ्गी अड्डामा सेनाले प्रधानमन्त्रीलाई निर्वाचन सुरक्षा तयारी, हालको सुरक्षा अवस्था र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो।