हाम्रो जातमा आइमाई मान्छेले भनेको के हुन्छ र ?

छोरा पाउने आशामा छोरीकै बथान

प्रकाशित मिति : २०७३ माघ २८ शुक्रबार
पथरी । सन्तानलाई दुई छाक जाउलो जुटाउनै समस्या छ, दक्षिणी मोरङको सिजुवा–३ का फागुलाल ऋषिदेवलाई । ३८ वर्षीय फागुलालका दुई छोरा र ६ छोरी छन् । बर्सेनि जस्तो एकपछि अर्को गरी जन्मिएका छोराछोरीलाई चिसो छल्ने लुगाफाटोभन्दा पेटभरि खाने अन्नमा नै फागुलालको ध्यान केन्द्रित छ । 
 
फागुलालकी जेठी छोरी उहाँभन्दा १७ वर्ष मात्र कान्छी छन् । तर छोरीलाई ज्वाइँ खोज्ने बेलासम्म सन्तानको इच्छा फागुलालको रहर होइन, बाध्यता हो । 
 
उनी भन्छन् –“छोरा भएन, हाम्रो जातमा छोरा भएन भने कुटुम्ब पनि आउँदैन, काजक्रिया गर्न पनि छोरो नै चाहिन्छ ।” उनले छोरा पर्खंदा पर्खंदै आठ सन्तानको बाबु बन्नु परेको नियति सुनाए । 
 
त्यसो त सिजुवा–३ मा उनी मात्र छोराको पर्खाइमा धेरै सन्तानको बाबु बनेका होइनन् । 
 
हब्बुलाल माझीको नियति पनि फागुलालको भन्दा फरक छैन । हब्बुलाल ३७ वर्षको उमेरमा पाँचजना छोराछोरीको बाबु बनिसकेका छन् । 
 
भन्छन् –“लगातार चार छोरी जन्मिए, छोरा पर्खंदा पर्खंदै पाँच सन्तान भइसके । उनले पाँचौँ सन्तान चाहिँ छोरो भएको सङ्केत गरे । 
 
उनका १ वर्ष, ६ वर्ष, ४ वर्ष, ३ वर्ष र डेढ वर्षका छोराछोरी छन् । सबै छोराछोरी घरमै सकुशल जन्मिएको हब्बुलालले सुनाए । 
 
फागुलाल र हब्बुलाल मात्र होइन, बस्तीमा धेरैले छोराको पर्खाइमा आफैँलाई आर्थिक बोझ थोपरिरहेका छन् । 
 
जमिनको नाममा ओतलाग्ने सानो छाप्रोबाहेक केही नभएका माझी र ऋषिदेव हिउँदमा साहू महाजनको धान काटेर झन्डै आठ महिना खाने अन्न भेला गर्छन् । 
 
बर्खामा कृषि मजदुरी गर्छन् । तर पछिल्लो समय कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै उनीहरूको गाँस पनि खोसिँदै गएको छ । 
 
त्यसो त उहाँहरूलाई परिवार नियोजनसम्बन्धी ज्ञान नभएको होइन, हब्बुकी पत्नी शान्तिकुमारी भन्छिन् –“हाम्रो जातमा आइमाई मान्छेले भनेको के हुन्छ र ?” रासस 
नयाँ