प्रसूती सेवा सुधार्न जिल्ला अस्पताललाई ३५ प्रकारका उपकरण तथा सामग्री
जनकबहादुर शाही,
प्रकाशित २०८२ मंसिर २२ सोमबार
855
Shares
हुम्ला । हुम्ला जिल्लामा प्रसूती सेवा सुधार गर्ने उद्देश्यले जिल्ला अस्पताललाई ३५ प्रकारका महत्वपूर्ण स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ।
वानहट वल्डवाइडको आर्थिक सहयोग र स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको प्राविधिक सहकार्यमा स्वास्थ्य सेवा कार्यालय हुम्लालाई उपकरणहरू उपलब्ध गराइएको हो।
आइतबार आयोजित एक कार्यक्रमका बीच स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाका कार्यकारी निर्देशक गोविन्द शाहीले स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीलाई उपकरणहरू हस्तान्तरण गरे। मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण लक्षित यस सहयोगबाट स्थानीय स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।
वानहट वल्डवाइडका जिल्ला संयोजक प्रकास शर्माका अनुसार, उपकरण तथा स्वास्थ्य सामग्रीहरूको कुल मूल्य १ लाख ४१ हजार ६ सय ४९ रुपैयाँ ८३ पैसा बराबरको रहेको छ। उनले यस सहयोगले हुम्लामा सुरक्षित मातृत्व सेवा प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।