arrow

मतदाता नामावलीमा दाबी विरोध र त्रुटि सच्याउन मंसिर २६ सम्मको समय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
election-commission-head-office-building-2022.jpg
तस्बिर : फाइल

काठमाडौँ । निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरी मंसिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरेको छ । 

 आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५ गतेसम्म देशभरबाट सङ्कलित मतदाता विवरणलाई अद्यावधिक अघि बढाइने जानकारी दिएका हुन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरू योग्य मतदाता मानिने आयोगले जनाएको छ । 

मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम अन्तर्गत सङ्कलित मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ ।

आयोगले सङ्कलित मतदाता नामावली आफ्नो वेबसाइटमा प्रकाशन गरेपछि मंसिर २६ गतेसम्म नाम, ठेगाना वा अन्य विवरणमा त्रुटि सच्याउन निवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।  

कसैले झुटो विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन सकिनेछ । एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा परेमा एक स्थानमा मात्र राख्न अनुरोध आयोगको छ । 

मृतक वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन सूचना दिन आग्रह गरिएको छ । दाबी–विरोधका सबै प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । 

मतदान स्थल छनोटका लागि अनलाइन सुविधा वृद्धि गर्ने उद्देश्यसहित आयोगले कतिपय मतदान स्थलहरूको पुनरावलोकन समेत गरेको छ । मतदाताले अब आफ्नो वडाभित्रका मतदान स्थलमध्ये सुविधाजनक स्थल छनोट गर्न अनलाइन प्रणालीमार्फत निवेदन दिन सक्नेछन् ।

आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय र त्रुटीरहित बनाउन आम मतदाता तथा सरोकारवालाको सक्रिय सहभागिताका लागि अपील गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ