हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
638
Shares
मुस्ताङ। मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक विसं २०२२ मा पहिचान भएको साङ्ता गाउँ मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँ हो। समुन्द्री सतहको चार हजार मिटर अग्लो उचाइमा अवस्थित, करिब १३ घरधुरीको बसोबास रहेको यो बस्ती कठिन भूगोलमा छ।
साङ्ता गाउँ अहिलेको स्थान्तरित बस्ती हो। यो बस्ती पहिले खोलापारीको भिरालो स्थानमा अवस्थित थियो, जहाँ सिँचाइको अभाव भएपछि साङ्ता गाउँका नागरिकले उक्त स्थान छोडेर हालको स्थानमा स्थान्तरित भएका थिए। यहाँ स्थान्तरित बस्ती बसेको पाँच दशक बढी भइसकेको जनाइएको छ, र अझै पनि साङ्ता गाउँले त्यागेको पुराना भग्नावशेष घर र खेतका अवशेषहरू त्यहाँ विद्यमान छन्।
साङ्ता गाउँ मुस्ताङको जोमसोमदेखि करिब ४० किलोमिटरको दुरीमा पर्छ। सङ्घीयतापछि मुस्ताङ–डोल्पा कच्ची सडक सञ्जालले छोएपछि हाल यहाँका नागरिकले राज्यबाट उपलब्ध हुने केही सेवासुविधा सहज रुपमा पाउँन थालेका छन्। अग्ला अग्ला विशाल पहाडले घेरिएको साङ्ता गाउँ सडक तलपट्टी भिरालो खोचमा अवस्थित छ। माथिल्लो डोल्पाका स्थानीय नागरिक किनमेलका लागि जोमसोम आउजाउँ गर्ने बाटो साङ्ता गाउँ नै हो। सरकारले यहाँको साङ्ता गाउँलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ।
साङ्ता गाउँमा १३ घरधुरीका ३४ जना मतदाता थिए। गाउँमा एक आधारभूत विद्यालय अहिले बन्द अवस्थामा छ, किनभने बालबालिका विभिन्न सङ्घसंस्थाहरूको सहयोगमा अन्यत्रको स्कुलमा पढाइ दिएपछि यहाँको स्कुल बन्द भएको हो। गाउँमा स्थास्थ्य संस्था नहुँदा कुनै गम्भीर बिरामी पर्दा त्यहाँका नागरिकलाई निकै ठूलो समस्या पर्ने गर्छ। गाउँमा वैकल्पिक सौर्य ऊर्जा र नेपाल टेलिकमको बिटीएस टावर जडान गरिएपछि बिजुली र टेलिफोनको तत्कालको समस्या टरेको छ।
साङ्ता गाउँको वार्षिक दिनचर्या अरुको गाउँको भन्दा विल्कुल फरक छ। वर्खायाममा सात महिना गाउँमै बसेर खेतीपाती र पशुपालन गरी बस्ने साङ्ता गाउँका नागरिक हिउँदयामको चार/पाँच महिनाको समय भने जाडो छल्नका लागि अस्थायी बसोबास सर्ने गर्छन्। पहिले उनीहरू गाउँ पारीको ‘घोक’ भन्ने पाखामा अस्थायी टहरा बनाएर बस्ने गर्थे, तर विगत सात वर्षदेखि उक्त स्थान छोडेर वारागुङ–५ कै पाक्लिङ, फल्याक र धाकार्रजुङलगायतका जोमसोम नजिकका गाउँहरूमा बस्न थालेका छन्।
वडासदस्य छिरिङ पाल्साङ गुरुङले हिउँदयाममा जाडो छल्न पारी पाखाको ‘घोक’ भन्ने ठाउँमा बस्न जाँदा समस्या र चुनौती हुने भएकाले हिउँदे बासस्थान फेरिएको बताए। यसपालि हिउँ र चिसो बढेकाले मङ्सिर अगावै गाउँ छोडेर जाडो छल्न फल्याक, पाक्लिङ र धाकार्रजुङ गाउँमा झरेको उनले बताए। उनी भन्छन्, "साङ्ता गाउँमा बस्दा बिरामी परियो भने त उपचार पाउन गाह्रो हुन्छ, हेलिकप्टर चार्टर गरेर उपचार गर्ने हाम्रो सामथ्र्यले भ्याउँदैन।" जोमसोम नजिकका गाउँहरूमा न्यानो हुने, खानेकुरा सस्तो हुने र बिरामी परेमा उपचार गर्न सजिलो हुने भएकाले उनीहरू यतै बस्ने गरेका छन्।
हिउँद सकिएर गर्मी सुरु भएपछि मात्रै साङ्तावासी साविककै स्थानमा फर्किनेछन्। अहिले साङ्ता गाउँका १३ घरधुरीमध्ये तीन घरधुरी पाक्लिङ गाउँमा, चार घरधुरी फल्याक गाउँमा र सात घरधुरी धाकार्रजुङ गाउँमा आफन्तको घरमा बसेको गुरुङले जानकारी दिए। साङ्तामा ४ घरधुरीले च्याङ्ग्रा पालेको र दुई घरधुरीले संयुक्त रुपमा याक पालन गरेका छन्। गाउँ मुखिया थुक्तेन गुरुङले अहिले साङ्ता गाउँका स्थानीयले पशु गोठालालाई पशुचौपायाको रेखदेखको जिम्मा लगाएर सबै महिला, पुरुष र बालबालिका जोमसोम नजिकका गाउँहरूमा झरेको बताए।