टीकापुरको जडीबुटी केन्द्रबाट मेन्थाखेतीमा किसान आकर्षित
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
725
Shares
कैलाली । कैलालीको टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरूलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको छ। केन्द्रले सस्तोमा बेर्ना उपलब्ध गराउनु, निःशुल्क प्रशोधन गर्नु र उत्पादन भएको तेल खरिद गर्नु जस्ता कार्यबाट किसानलाई प्रोत्साहन गरिरहेको छ। बर्सेनि मेन्थाखेती गर्ने किसानको लगत सङ्कलन गरेर खेती विस्तार गर्ने काम केन्द्रले गर्दै आएको छ।
कार्यालय प्रमुख कमलराज बेलबासेले दिएको जानकारी अनुसार, गत वर्ष प्रशोधन केन्द्रले ३ हजार २०० केजी तेल खरिद गरेको थियो भने यस वर्ष ५ हजार केजी तेल खरिद गर्ने लक्ष्य लिइएको छ। मेन्थाको तेल प्रतिकेजी रु. १ हजार ५०० मा खरिद गरिँदै आएको छ।
प्रशोधन केन्द्रको नाममा टीकापुरमा तीन हेक्टर जमिन छ, जसको केही भागमा मेन्था र क्यामोमाइलको बीउ उत्पादन हुन्छ। उत्पादन भएको मेन्थाको बीउ किसानलाई प्रतिकेजी रु. १२ मा बिक्री गरिँदै आएको छ (जबकी एक केजी बीउ उत्पादनमा केन्द्रको खर्च रु. ८६ पर्छ)। कार्यालय प्रमुख बेलबासेका अनुसार, एक बिघा क्षेत्रफलका लागि १२० केजीसम्म बीउ चाहिन्छ र एक बिघा क्षेत्रफलमा न्यूनतम १०० केजी तेल उत्पादन गर्न सकिन्छ। किसानले तोरीखेती भित्र्याएर मेन्थाखेती गर्न सक्छन् र जेठमा यसलाई भित्र्याउँदा असारमा सहजै धानखेती पनि गर्न सकिने उनले बताए।
क्यामोमाइलको तेलको मूल्य निकै महँगो छ। एक केजी क्यामोमाइलको तेल प्रशोधन केन्द्रले रु. १९ हजारमा खरिद गर्दै आएको छ। यसको बीउ निःशुल्क वितरण हुन्छ भने यसको खेती माघ महिनामा गरिन्छ।
कार्यालय प्रमुख बेलबासेका अनुसार, प्रशोधन केन्द्रले लिप्टिसको पातबाट समेत तेल उत्पादन गर्दै आएको छ। तराईका जिल्लाहरूमा व्यावसायिक रूपमा गरिँदै आएको लिप्टिसका पातलाई प्रशोधन गरेर उत्पादन भएको तेल केन्द्रले प्रतिकेजी रु. १ हजार १५० मा खरिद गर्दै आएको छ। गत वर्ष ६०० केजी लिप्टिसको तेल प्रशोधन केन्द्रले उत्पादन गरेको थियो।
केन्द्रले वार्षिक ५ हजारभन्दा बढीलाई रोजगारी समेत दिँदै आएको छ। दैनिक ज्यालादारीमा केन्द्रमा अधिकांश महिलाहरूले मेन्थाको गोडमेल, दाउरा सङ्कलन, सिँचाइ, बीउ निकाल्ने, तेल प्रशोधनका अन्य काममा रोजगारी पाउने गरेको बेलबासे बताउँछन्। स्थानीय सम्झना पाण्डेले ११ वर्षदेखि यसैमा काम गर्दै आएको र घरायसी कामकाज सकेर दिउँसोको समयमा काम पाउँदा घर खर्चको जोहो गर्न सजिलो भएको बताएकी छन्।