संविधानसभा सदस्य राईद्वारा 'नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र' सञ्चालन
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
676
Shares
खोटाङ। राजनीतिलाई मात्र पेसा नबनाई उत्पादन र उद्यममा जोडिने प्रेरणादायी उदाहरण बनेकी छन्, संविधानसभा सदस्य तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य दुर्गाजयन्ती राई। उनले खोटाङको दिक्तेल बजारमा 'नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र' सञ्चालन गर्दै आएकी छन्, जसको उद्देश्य स्थानीय कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्नु हो।
नेता राईले विसं २०७६ सालमा रु पाँच हजारको सानो लगानीमा मकैको च्याँख्ला र गुन्द्रुक–सिन्की राखेर व्यवसाय सुरु गरेकी थिइन्। अहिले उनको पसलमा स्थानीयस्तरमा उत्पादित मकैको च्याँख्ला, फापर–कोदोको पिठो, धानको चामल, घ्यू, मह, तोरीको तेल, राँगाको सुकुटी, गुन्द्रुक, सिन्की, गेडागुडीदेखि हरियो सागसब्जीका साथै डालो/नाङ्लोसम्मका कृषि उपज तथा सामग्रीहरू पाइन्छन्।
भूमिगत राजनीति र सङ्घीय संसद्को जिम्मेवारी निर्वाह गरिसकेकी राईको व्यवसाय अहिले धरान, काठमाडौँ, हङकङ र सिङ्गापुरसम्म विस्तार भएको छ। विदेशमा नेपालीले मन पराउने परम्परागत खाद्यवस्तुको मागले व्यवसाय विस्तार गर्न मद्दत पुगेको उनले बताइन्।
नेता राईका अनुसार हेटौँडा महाधिवेशनपछि तत्कालीन नेकपा (माओवादी केन्द्र) ले 'नेता तथा कार्यकर्ताले उत्पादन र उद्यममा पनि जोडिनुपर्छ' भन्ने नीतिगत निर्णय गरेपछि आफूलाई यो काममा लाग्न प्रेरणा मिलेको हो।
उनी भन्छिन्, "सङ्गठनको काम आंशिक रूपमा गरे पनि पुग्ने वातावरण बनेपछि मैले उत्पादनमूलक क्षेत्रमा हात हालेको हुँ।" उनले उद्यमले आफ्नो राजनीतिक जीवनलाई समेत सकारात्मक प्रभाव पारेको बताउँदै राजनीति निःस्वार्थ हुनुपर्छ र राजनीति गर्ने सबै नेताले केही न केही आम्दानी हुने व्यवसाय गर्नुपर्छ भन्ने आफ्नो बुझाइ रहेको बताइन्।
प्रशोधन केन्द्रमा कच्चा सामग्री पर्याप्त मात्रामा नपाउनु नै प्रमुख चुनौतीको रूपमा देखिएको राईको भनाइ छ। उनले सिजनमा धेरै सामान पाइने भए पनि वर्षभरि समानरूपमा कच्चा पदार्थको आपूर्ति नहुने समस्या रहेको बताइन्। उनी शतप्रतिशत लागतमा २०–२५ प्रतिशत नाफा जोडेर यथार्थ मूल्यमा सामान बिक्री गर्ने गरेको बताउँछिन्।
नेता राईले स्थानीय उत्पादनमा आधारित व्यवसायले रोजगारी, आत्मनिर्भरता र स्थानीय आर्थिक चक्रलाई मजबुत बनाउने जानकारी दिँदै अन्य राजनीतिज्ञहरूलाई पनि कृषि वा स्थानीय उद्योगमा जोडिन प्रोत्साहन दिएकी छन्। उनी सरकारका तीनवटै तहले कृषि क्षेत्रमा अनुदानमार्फत उत्पादन वृद्धि गर्न सके देशको समग्र अर्थतन्त्रलाई टेवा पुग्ने बताउँछिन्।
नेता राई विसं २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन जनमोर्चा नेपाल पार्टीबाट समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेकी थिइन्।