सिरहा । स्वतन्त्र मधेसको नाउमा राष्ट्रविरोधी गतिविधि गरेको भन्दै पक्राउ परेका सिके राउतलाई थप अनुसन्धानका लागि दोस्रो पटक थप १० दिन थुनामा राख्न म्याद थप भएको छ । राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका राउतलाई आइतबार सिरहा प्रहरीले जिल्ला अदालतमा पेश गरेको थियो ।
सिरहा प्रहरीको मुद्दाफाँटले दोस्रो पटक थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जनाएको छ । मुद्दा फाँटका एक अधिकारीले भने, ‘पहिलो चरणको म्यादले अनुसन्धान सकिएन । थप अनुसन्धान गर्नु पर्ने देखिएकाले म्याद थपको अनुमति मागिएको हो ।’ गएको माघ २१ गते सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि १० दिन थुनामा राख्ने आदेश दिएकोमा आइतबार समय सकिएको हो ।
पछिल्लो पटक राउत गृहमन्त्री विमलेन्द्र निधिको गृहनगर जनकपुरबाटै पक्राउ परेका थिए । प्रधानमन्त्री र गृहमन्त्रीले राष्ट्रविरोधी गतिविधि गर्ने कसैलाई नडाड्ने बताउँदै आएका छन् । यसअघि एक पटक सिके राउतले राज्यविप्लपको मुद्दामा विशेष अदालतबाट सफाइ पाइसकेका छन् ।