arrow

स्वदेशमै करोडौँको कारोबार: व्यावसायिक माहुरीपालक हमालको सफलताको कथा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
mahuripalan-.jpg

भजनी (कैलाली)। परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुन् दाङको तुलसीपुर उपमहानगरपालिका–६, मदन नगरका विनोद हमाल। व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आएका उनी व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणाको स्रोत बनेका छन्।

विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आएका हमालबाटै सिकेको सीपबाट कैयौँ युवाहरू यस व्यवसायमा संलग्न भएका छन्। सुरुमा १२–१५ जना माहुरीपालक किसान रहेको दाङमा अहिले चार–पाँच सय युवा यही व्यवसायमा भविष्य खोजिरहेका छन्। "सुरुमा सीमित व्यक्ति मौरीपालनमा थियौँ। अहिले दाङमा मात्र चार–पाँच सय जना पुगिसक्नुभएको छ," हमाल भन्छन्, "थोरै लगानीले मनग्य आम्दानी दिने भएपछि युवाहरूको आकर्षण बढ्दै गएको छ।"

दाङदेखि कैलालीसम्मका तराईका जिल्लामा माहुरीका घार घुमाइरहने हमाल यतिबेला कैलालीको भजनी नगरपालिकामा पुगेका छन्। उनले कैलाली र बर्दियाका विभिन्न ठाउँमा पाँच सय माहुरीका घार तोरी फुलेका खेतहरूमा राखेका छन्। उनी तोरीको सिजन सकिएपछि फूल फुलेको ठाउँ हेरी घारहरू घुमाउँदै हिँड्छन्। कैलालीलगायतका तराईका जिल्लामा बर्सेनि तोरी फुल्ने समयमा दाङबाट दर्जनौँ मौरीपालक किसान माहुरीका घार बोकेर चरनका लागि आउने गर्छन्। मौरीका लागि उपयुक्त हावापानी भएका कारण दाङमा माहुरी व्यवसाय फस्टाएको पाइन्छ। तोरी र मकैको फूल माहुरीको चरनका लागि निकै महत्त्वपूर्ण मानिन्छ।

स्वर्गद्वारी विकन्सर्न प्रालिमार्फत माहुरीपालन गर्दै आएका हमालले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्भने अप्रत्यक्ष रूपमा सयौँ व्यवसायसँग जोडिएका छन्। हमालले एक वर्षमा एक लाख केजीसम्म मह उत्पादन गरेर बिक्री गर्दै आएको बताए। "आम्दानी कति हुन्छ त्यो ठ्याक्कै भन्नुभन्दा पनि हामीले वर्षमा एक लाख केजी मह उत्पादन गर्छौँ," उनी भन्छन्, "त्यो मह न्यूनतम रु पाँच सय प्रतिकेजीभन्दा बढी मा बिक्री गर्दै आएका छौँ।" महको मूल्य फूलको स्रोतका आधारमा तय गरिन्छ।

माहुरीपालक किसानलाई बजारको कुनै समस्या छैन। अहिले पनि बजारको मागलाई पूरा गर्न नसकिएको हमालको भनाइ छ। काठमाडौँलगायत देशका तीन क्षेत्रबाट महको व्यापार गर्दै आएका उनले धेरै उत्पादन कम्पनीमा नपुर्‍याई बिक्री हुने गरेको बताए। उनको परिवार नै माहुरी व्यवसायमा लागेको छ।

पैसा कमाउनका लागि विदेश जान नपर्ने उनी बताउँछन्। "पैसा विदेशभन्दा स्वदेशमा धेरै छ। हामी जसरी खटिएर विदेशमा आठ घण्टा काम गर्छौैँ, त्यसैगरी स्वदेशमा गरौँ त," उनी भन्छन्, "व्यवसायमा दत्तचित्त भएर लाग्यो भने हरेक व्यवसायको स्वदेशमा सम्भावना छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ