रामहरिको आरोप- सरकार निर्वाचनमा होइन, भ्रष्ट खोजेर मन्त्रीमण्डल विस्तारमा केन्द्रित
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
2.1k
Shares
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको गम्भीर आरोप लगाएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाएका हुन्। खतिवडाको दाबी छ कि सरकारले मन्त्री बनाउन भ्रष्टहरू खोजेर हिँडेको छ र छानीछानी भ्रष्टहरूलाई मात्रै मन्त्री बनाएको छ।
उनले वर्तमान सरकारमा केही मन्त्रीहरू भने काम गर्नेजस्ता देखिएको भएपनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको बताए।
उनले भने, "सरकार चुनाव गराउने बाटोमा छैन। मन्त्रीमण्डल विस्तारमा केन्द्रित छ। ती पनि भ्रष्ट जो–जो छन्, तीनीहरूलाई मात्रै खोज्दै हिँडेको छ। भर्खरै मैले सुन्दै थिएँ, अब विवादीत मान्छेहरू आएका छन्। केही मान्छेहरू काम गर्नेजस्ता पनि देखिएका छन्। तरपनि सरकार अहिले चुनाव गराउने अवस्थामा गएको छैन।"
खतिवडाले सरकार निर्वाचनको बाटोमा नलागे पनि काँग्रेसले भने आम निर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको जानकारी दिए। महाधिवेशनको लागि हाल क्रियाशील सदस्य नवीकरण र वितरणको काम भइरहेको उनले बताए।