एनपीएल सफलताका लागि क्यानलाई आईसीसी अध्यक्षको बधाई
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
681
Shares
काठमाडौँ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाहले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिएका छन्।
आईसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन्। उनले अध्यक्ष चन्दको नेतृत्वमा नेपाली क्रिकेट अर्को नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्। शाहले एनपीएलले नयाँ खेलाडी मात्र उत्पादन गर्ने नभई अन्तर्राष्ट्रियस्तरमा नेपाललाई बलियो बनाउँदै लैजानेमा आफ्नो विश्वास रहेको बताए।
अध्यक्ष शाहले एनपीएलले सङ्गठनात्मक व्यवस्थापन र क्रिकेटको गुणस्तरका दृष्टिले उदाहरणीय मापदण्ड स्थापित गरेको उल्लेख गरेका छन्। साथै, उनले भविष्यमा नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि क्यानलाई निरन्तर सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।