काठमाडौँ । सत्ताइस दिनसम्म चलेको क्रिकेटको महाकुम्भका रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विभिन्न रोचक कीर्तिमान बनेका छन् । मंसिर १ देखि २७ गतेसम्म नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भएको प्रतियोगितामा विभिन्न रेकर्ड बनेका हुन् ।
दोस्रो सिजनको उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भयो । फाइनलमा लायन्स छ विकेटले विजयी हुँदै च्याम्पियन भयो । रोयल्सले भने दोस्रोपटक पनि उपविजेतामै चित्त बुझायो ।
टस जितेर पहिला ब्याटिङ गरेको रोयल्स १९ दशमलव एक ओभरमा ८५ रनमा अलआउट भयो । जवाफमा लायन्सले नौ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । पहिलो संस्करणको फाइनलमा पनि रोयल्स जनकपुर बोल्ट्ससँग पाँच विकेटले स्तब्ध भएको थियो ।
च्याम्पियन बनेसँगै लायन्सले ट्रफीसहित रु एक करोड १० लाख पुरस्कार पायो । रोयल्सले भने रु ५१ लखमा चित्त बुझायो । यस्तै प्रतियोगितामा तेस्रो भएको विराटनगर किङ्सले रु २५ लाख र चौथो स्थानमा पुगेको काठमाडौँ गोर्खाजले रु १५ लाख पुरस्कार पायो ।
लुम्बिनीका कप्तान पौडेलले कार र मोटरसाइकल जिते
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीलाई च्याम्पियन बनाउनुका साथै उत्कृष्ट खेल्दै कार र मोटरसाइकल जितेका छन् । लुम्बिनीको सफलता रोहितको प्रदर्शन निर्णायक रह्यो । ‘प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै रोहितले कार पाए । उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । यो नेपालको तर्फबाट सर्वाधिक रन हो । विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्फ पनि १० विकेट लिए । उनी उत्कृष्ट ब्याटरसमेत हुँदै प्रतियोगिताको ‘इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै पल्सर बाइक पाए ।
यसका साथै प्रतियोगिताभर १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त (विराटनगरका सन्दीप लामिछाने र सुदूरपश्चिमका अविनाश बोहोरा) शीर्ष स्थानमा रहे, तर कम ‘इकोनोमी’का कारण सन्दीपले सर्वोत्कृष्ट बलर पुरस्कारसहित बाइक पाए । बोहरा ‘रेडबुल प्लेअर अफ दी टुर्नामेन्ट’ भए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुबेन ट्रम्पलमेन भए । उनले रु पाँच लाख पुरस्कार जिते । लुम्बिनीका तिलकराज भण्डारी ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदा लुम्बिनीकै शेर मल्लले ‘इमर्जिङ’ खेलाडी बन्दै बाइक हात पारे ।
गत वर्ष सुदूपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका थिए । मोटरसाइकल जनकपुरका ललित राजवंशीले हात पारेका थिए ।
‘ह्याट्रिक’ गर्ने बलरमा रोहित र शाहब
यो सिजनमा दुई बलरले मात्रै ह्याट्रिक गर्न सके । दुवै नेपाली बलर लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेल र काठमाडौँ गोर्खाजका शाहब आलम हुन् ।
रोहितले फाइनलमा सुदूरपश्चिमविरुद्ध ‘ह्याट्रिक’सहित तीन विकेट लिएका थिए । यसअघि काठमाडौँ गोर्खाजका आलमले यो सिजनमा पहिलो ‘ह्याट्रिक’ गरेका थिए । पोखरा एभेन्जर्सविरूद्ध ह्याट्रिकसहित छ विकेट लिँदै उनले ‘रेकर्ड’ राखेका थिए । शाहब एकै खेलमा छ विकेट लिने पहिलो बलरसमेत बनेका थिए ।
यस सिजनमा चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा पाँच विकेट लिएका थिए । यस्तै, एकै खेलमा चार विकेट लिने खेलाडीमा भने सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी, सुदूरपश्चिमकै अविनाश बोहरा, विराटनगरका कप्तान सन्दीप लामिछाने, पोखरा एभेन्जर्सका विपीन खत्री, चितवन राइनोजका सोहेल तनभिर र पोखराका धनन्जय लक्षन रहे ।
एनपीएलमा ५०० रन कटाउने एकमात्रै खेलाडी रोहित
एनपीएलको दुई सिजन सम्पन्न हुँदा ५०० रन कटाउने एकमात्रै ब्याटर पनि रोहित पौडेल बनेका छन् । दुवै सिजनमा गरेर १७ खेलबाट उनले ५५५ रन बनाएका छन् । उनले ५०० रन कटाउने पहिलो नेपाली खेलाडीको ‘रेकर्ड’ पनि राखे ।
उनलाई सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले ४९९ रन बनाएर पछ्याएका छन् । यसअघि चितवन राइनोजका विदेशी खेलाडी रवि बोपराले ५०० रन पूरा गरेका थिए । उनले १५ खेलमा ५२३ रन बनाएका थिए । यस्तै, सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी १८ खेलमा ३८९ रन बनाएर तेस्रो स्थानमा छन् ।
तीन शतकको कीर्तिमान विदेशी खेलाडीका नाममा
दोस्रो सिजनसम्म तीन शतक बनाउने कीर्तिमान बने । दोस्रोमा दुई र गत संस्करणमा एकमात्रै शतक जोडिएको थियो । एनपीएलमा जोडिएका सबै शतक विदेशी खेलाडीका नाममा छन् ।
दोस्रो संस्करणमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन र कर्णाली याक्सका मार्क वाटले मात्रै शतक प्रहार गरे । रोसिङ्टनले कर्णाली याक्सविरुद्धको उक्त खेलमा उनले ५५ बलमा शतक पूरा गरेका हुन् । ५८ बल खेलेका एडम १०८ रनमा अविजित रहे । कर्णालीलाई ३४ रनले हराएको यो खेलमा एडम ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए । एडम इङ्ग्ल्याण्डका हुन् ।
यस्तै, कर्णाली याक्समा अनुबन्ध स्कटल्याण्डका मार्क वाट दोस्रो संस्करणमा शतक हिर्काउने पहिलो खेलाडी हुन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४१ बलमा शतक बनाएका थिए । ४४ बल खेलेका वाट ११४ रनमा अविजित रहे । यो खेल कर्णालीले नौ विकेटले जितेको थियो । जसमा वाट ‘प्लेयर अफ द म्याच’ समेत चुनिए । वाट सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडीसमेत बने ।
पहिलो संस्करणको एकमात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसको नाममा छ । पोखराको टोलीमा आवद्ध गोउसले लुम्बिनीविरुद्ध शतक जोडे । गोउसले ५४ बलमा शतक पूरा गरेका हुन् । उनी १०४ रनमा अविजित रहे ।
अर्धशतकमा पनि विदेशीकै दबदबा
यस सिजनमा ३६ अर्धशतक प्रहार भए । जसमा २९ खेलाडी सामेल छन् । २९ खेलाडीमध्ये नौ नेपाली खेलाडीले मात्रै अर्धशतक हिर्काउन सकेका छन् । सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले दुई, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले दुई दुई अर्धशतक जोडेका छन् ।
यस्तै, इशान पाण्डे, विराटनगर किङ्सका लोकेश बम, बसिर अहमद, चितवनका अर्जुन साउँद, काठमाडौंका भीम सार्की,जनकपुरका अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् ।
विदेशी खेलाडीमा चितवन राइनोजका रवी बोपराले तीन, पोखराका एडम रोसिङटन, सञ्जय कृष्णमूर्ति र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक हिर्काए ।
काठमाडौँ गोर्खाजका भीम सार्कीले यो सिजनमा छिटो अर्धशतक हिर्काउने रेकर्ड राखे । सार्कीले पोखरा एभेन्जर्सविरूद्ध १९ बलमै अर्धशतक पूरा गरेका थिए । उनी कम बलमा अर्धशतक हिर्काउने पहिलो खेलाडी बने ।
यसका साथै विराटनगर किङ्सका फाफ डु प्लेसिस र सुदूरपश्चिम रोयल्समा आबद्ध खेलाडी हर्मित सिंहले पनि १९ बलमा अर्धशतक जोडेका थिए । गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ ।
सर्वाधिक विकेट लिनेमा नेपाली बलर र रनकर्तामा विदेशी
प्रतियोगिताभर सर्वाधिक विकेट लिने शीर्ष तीन बलरमा सबै नेपाली रहेका छन् । विराटनगरका कप्तान लामिछाने, सुदूरपश्चिमका बोहरा र लुम्बिनी लायन्सका मल्लले समान १७÷१७ विकेट लिएका छन् ।
बलिङ इकोनोमीका हिसाबले सन्दीप पहिलो, अभिनाश दोस्रो र शेर तेस्रो नम्बरमा पुगेका हुन् । सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा विदेशी अटाउदना त्यसपछि दोस्रो र तेस्रो नम्बरमा भने नेपाली ब्याटर छन् ।
पोखराका एडम रोसिङटन ३२३ रन बनाए र सबैभन्दा बढी रन बनाउनेको पहिलो नम्बरमा छन् । उनले सात खेलबाट एक शतक र दुई अर्धशतकको मद्दतमा ३२३ रन बनाएका हुन् ।
दोस्रो नम्बरमा लुम्बिनीका कप्तान रोहित पौडेल छन् । उनले १० खेलबाट २७६ रन जोड्दै दोस्रो नम्बरमा पुगेका हुन् । तेस्रो नम्बरमा सुदूरपश्चिमका विनोद भण्डारी रहेका छन् । भण्डारी नौ खेलबाट दुई अर्धशतकको मद्दतमा २६४ रन जोड्दै तेस्रो नम्बरमा अटाएका हुन् ।
कीर्तिमानी उच्च र खराब स्कोरमा विराटनगर
एनपीएल इतिहासमै उच्च स्कोर बनाउने टोलीमा विराटनगर किङ्स अगाडि छ । उसले जारी सिजनमा पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपीएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च बनाउनेमा पोखरा रहेको छ । पोखराले कर्णालीका विरुद्ध २०१ रन जोडेको थियो ।
यो संस्करणमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा पनि विराटनगर नै रह्यो । सुदूरपश्चिमविरुद्धको पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो । यो स्कोर सबैभन्दा कम रनमा अलआउट हुने रेकर्ड बन्यो ।
सबैभन्दा बढी रनअन्तरले जित्ने सुदूरपश्चिम
दोस्रो संस्करणमा सबैभन्दा ठूलो रनअन्तरको जित हासिल गर्ने टोली सुदूरपश्चिम रोयल्स बनेको छ । सुदूरपश्चिम रोयल्सले विरानटनगर किङ्सलाई ७७ रनको फराकिलो अन्तरले हराएको थियो ।
दोस्रो ठूलो रनअन्तरको जित विरानगटर किङ्सको नाममा रहेको छ । विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो ।
यसैगरी, तेस्रो ठूलो रनअन्तरको जित काठमाडौँको नाममा रह्यो । काठमाडौँले पनि चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो । एनपीएलको पहिलो संस्करणमा भने सबैभन्दा ठूलो रनअन्तरको जित सुदूरपश्चिम रोयल्सले हासिल गरेको थियो । सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९० रनको फराकिलो अन्तरले हराएको थियो ।
एनपीएलको दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई नै सबैभन्दा ठूलो रनअन्तरले हराउँदै कीर्तिमान बनायो । दोस्रो संस्करणमा विकेटका आधारमा सबैभन्दा ठूलो अन्तरको जित कर्णाली याक्सको नाममा रह्यो । कर्णालीले लुम्बिनी लायन्सलाई नौ विकेटले हरायो ।
एनपीएलको पहिलो संस्करणमा भने विकेटका आधारमा ठूलो अन्तरको जित पोखरा एभेन्जर्सको नाममा रहेको थियो । पोखराले लुम्बिनी लायन्सलाई नै १० विकेटले हराएको थियो । पहिलो र दोस्रो दुवै संस्करणमा विकेटका अधारमा सबैभन्दा ठूलो अन्तरको हार ब्यहोर्ने टोली लुम्बिनी बन्यो ।
दोस्रो संस्करणमा सबैभन्दा कम रनअन्तरको जित भने कर्णाली याक्सले हासिल ग¥यो । कर्णालीले लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई केवल तीन रनले हराएको थियो ।
प्रतियोगितामा पहिलो विकेटका लागि चितवनका अर्जुन साउँद र डेभिड मलानले जनकपुरविरुद्ध ११२ र दोस्रो विकेटका लागि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखराविरुद्ध १३२ रनको उच्च साझेदारीको रेकर्ड छ ।
यस्तै, यस सिजनमा सबैभन्दा बढी क्याच लिने खेलाडीमा विराटनगरका शमूएल डेली हेजलेट र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी रहे । दुवै खेलाडीले ११/११ क्याच समाते । यसका साथै सुदूरपश्चिमका विकेटविकर विनोद भण्डारी सात क्याच र तीन स्टाम्पिंग गरेर १० जनालाई आउट गराएका छन् ।
कर्णालीका मार्क वाटले प्रतियोगिताभर सबैभन्दा बढी २१ छक्का हिर्काए । सबैभन्दा बढीपटक शून्यमा अर्थात डकआउट हुनेमा सुदूरपश्चिमका जोश ब्राउन,लुम्बिनीका सुमित महर्जन,जनकपुरका आसिफ शेख, लुम्बिनीकै सन्दीप जोरा रहेका छन् । यी सबै खेलाडी तीन÷तीन पटक डकआउट भएका खराब रेकर्ड छ ।
शेर मल्ल लगातार दोस्रोपटक ट्रफी उचाल्ने खेलाडी बने । गत संस्करणमा जनकपुरबाट खेलेर च्याम्पियन बनेका शेर यसपटक लुम्बिनीबाट खेलेर उपाधि उचाले ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । लुम्बिनी च्याम्पियन बन्दा सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो । विराटनगर तेस्रो र काठमाडौँले चौथो स्थानमा चित्त बुझायो ।
गत वर्षको विजेता जनकपुर एक खेल मात्रै जितेर पुछारमा रह्यो । चितवन दुई खेल जितेर सातौँ, समान दुई खेल जितेको कर्णाली याक्स छैटौँ, तीन खेल जितेको पोखरा पाँचौँ स्थानमा रह्यो ।