arrow

पत्रकारितासँगै लघु उद्यममा लागे वली, बेत फर्निचर सञ्चालन

logo
हाम्राकुरा,
प्रकाशित २०८२ पुष १ मंगलबार
press-narayan oli-bet furniture-1.jpg

लुम्बिनी । पत्रकारितालाई मात्रै पेशा नबनाई उत्पादन र वनमा आधारित उद्यममा जोडिने प्रयासरतमा लागिपरेका एक उदाहरणीय पात्र हुन्, बुटवलमा पत्रकारिता गर्दै आएका नारायण वली । उनले रुपन्देहीस्थित पश्चिम नेपालको प्रमुख व्यापारिक शहर मानिने बुटवमा नेपाल वेतबाँस फर्निचर उद्योग  सञ्चालन गर्दै आएका छन् । यसको उद्देश्य स्वदेशका वनमा खेर गइरहेको वनमा आधारित गैरकाष्ठ प्रजातिको बेतलाई सदुपयोग गरी मौलिक हस्तकला सीपबाट उत्पादन अभिवृद्धि र स्थानीय उद्यम प्रवर्द्धन गर्नु हो ।

पत्रकार वलीले २०७३ साल चैतमा दुई लाख पचास हजारको सानो लगानीमा बेतको व्यवसाय शुरु गरेका हुन् । अहिले उनको उद्योगमा हस्तकलाबाट बनाइएका आकर्षक वेतबाट उत्पादित सजावट साइकलदेखि कुर्सी, सोफा सेट लगायत मौलिक सामग्रीहरु पाइन्छन् । अहिले उनको उद्योगको लागत बढ्दै गएको छ भने उत्पादनका किसिम पनि बढ्दै गएको छ । 

केही वर्ष शिक्षण पेशासमेत गरेका र मोफसल पत्रकारिताको जिम्मेवारी निर्वाह गर्दै आएका वलीको व्यवसाय रुपन्देहीलगायत छिमेकी जिल्लाहरुमा बिक्री वितरण हुँदै आएको छ भने काठमाडौँ, नारायणगढ, पोखरा र काँकडभिट्टामा कच्चापदार्थ जाने गरेको छ ।

उनको दुःखेसो पनि छ । वली भन्छन्, 'विदेशीले हाम्रो उत्पादन निकै मन पराउने गर्छन् तर यसलाई यहाँका होटल व्यवसायीले प्रयोग नगर्दा तेस्रो मुलुकसम्म यसको प्रचार हुन सकेको छैन ।'

उनले ११ वर्षअघि दाङमा शिक्षण पेशामा छँदै पत्रकारिता शुरु गरेको र पछि आमा बिमारले थलिएपछि बुटवलमा उपचार गराउनका लागि ल्याइरहनुपर्ने हुँदा शिक्षण पेशा प्रभावित बन्दै गएपछि बुटवलमै केही काम गरेर उपचारमा सहज होला भनेर बस्न थाले ।

संघर्षका दिन सुनाउँदै भन्छन्, 'ज्याला मजदुरी गर्ने ठाउँमा जाँदा सीप र पढाई सोधेपछि काम दिँदैनथे, जागिर खोज्दा कतै पाइएन त्यसपछि उत्पादन र उद्यममा जोडिनुपर्छ भन्ने निर्णयमा पुगेँ र उद्यमलाई विस्तार गरी काममा होमिएँ ।'

उनी भन्छन्, समाचार संकलनको काम आंशिक रुपमा गर्दै उद्यममा उत्पादनलाई जोड दिएँ ।' उनले उद्यमले आफ्नो पत्रकारिता जीवनलाई समेत सकारात्मक प्रभाव पारेको बताए ।

पत्रकारिता निःस्वार्थ हुनुपर्ने र पत्रकारिता गर्ने सबै पत्रकारले निजी तथा गैरसरकारी संस्थामा जागिर खाएर भन्दा पनि केही न केही आफ्नै लगानीमा आम्दानी हुने व्यवसाय गर्नुपर्छ भन्ने आफ्नो बुझाइ रहेको उनी बताउँछन् ।

बेत फर्निचर उद्योगमा कच्चापदार्थ सामग्री पर्याप्त मात्रामा नपाउनु नै प्रमुख चुनौतीको रुपमा देखिएको वलीको भनाइ छ । उनले नेपालमा पैँतीसभन्दा धेरे जिल्लाका सामुदायिक वनमा बेत पाइने भए पनि गैरकाष्ठ निकासीमा वन ऐन बाधक, कर्मचारीको अंकुश र सामुदायिक वन उपभोक्ता समूहका प्रमुख तथा कार्यसमितिको स्वार्थ र नेपालमै खपत हुने भए पनि सामुदायिक वनकै समिति र गैर बेत उद्यमी माफियाका कारण कमिसन खेलले भारतको बरेलीमा बिक्री गर्ने समस्याले कच्चापदार्थको आपूर्ति सहज नहुँदा समस्या पर्दै आएको बताए । 

हाम्राकुराकर्मी वलीले स्वदेशी कच्चापदार्थमा आधारित उत्पादन व्यवसायले रोजगारी, आत्मनिर्भरता र स्थानीय आर्थिक चक्रलाई मजबुत बनाउने भए पनि स्थानीय तह र पर्यटन व्यवसायीले प्रोत्साहन गर्नुको साटो आयातित फर्निचरहरुको प्रयोगले सोँचेजस्तो बिक्री हुन नसकेको बताए ।

सरकारका तीनवटै तहले वनमा आधारित क्षेत्रमा अनुदानमार्फत उत्पादन वृद्धि गर्न सके प्रविधिको प्रयोग गरी बेतलाई प्रशोधन गरेर निर्यात गरेर देशको समग्र अर्थतन्त्रलाई टेवा पुग्ने उनी बताउँछन् ।

वन उद्यमले पलायन जनशक्ति रोक्ने
नेपालमा बेरोजगारी समस्या कहालीलाग्दो छ । ग्रामीण, दुर्गम क्षेत्रमा भौतिक पूर्वाधार र बजार विस्तार हुन सकिरहेको छैन । त्यसैले ग्रामीण क्षेत्रबाट मानिसहरु शहरी क्षेत्रमा बसाइँसराई गर्ने र नेपालबाट कामका लागि विदेशिने युवा जनशक्तिको सङ्ख्या दैनिक बढ्दै गएको छ ।

बसाइँसराई र विदेश पलायनले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र पारिवारिक संरचनामा निकै दुरगामी असर पारिरहेको छ । बसाइसराई र विदेश पलायन कसैको रोजाइको विषयभन्दा पनि बाध्यताको कारण बन्दै गएको छ । त्यसैले नेपालको सामुदायिक वन उद्यमहरुले सीपमुलक तालिम आयोजना गरेर स्वरोजगारी सिर्जना गर्दा युवा तथा जनशक्तिको सहर बसाई र विदेश पलायनलाई रोक्न मद्धत पुग्ने देखिन्छ । सामुदायिक वन लगायत अन्य वनहरुको दिगो व्यवस्थापन गरी वन उद्यम सञ्चालन गर्दा स्वदेशमै रोजगारी गर्नेको सङ्ख्या बढ्ने र सामुदायिक वन उद्यमले बढ्दो युवा जनशक्ति पलायनलाई रोक्न सक्दछ ।

गरिबी न्यूनीकरण
नेपाल गरिबी र भोकमरीको चेपुवामा छ । नेपालका ग्रामीण र दुर्गम भेगका जनताहरुलाई आर्थिक उत्पादनको स्रोत जुटाउन सकस छ । यसको प्रमुख कारण अहिलेसम्म नेपालमा भइरहेका सबै विकासका पहल तथा प्रयासहरु प्रभावकारी नहुनु मानिन्छ । विपन्न तथा गरिबलाई सीप सिकाएर उद्यमी बनाउन सके आत्मनिर्भर बन्न सक्छन् । कुनै पनि उद्यम गर्नका लागि विद्यमान प्राकृतिक स्रोतहरु जस्तैः जल, जंगल र जमीनमा नागरिकको अधिकार स्थापित गर्दै उद्यमी बन्ने अवसर प्रदान गर्नु पर्दछ । त्यसैले सामुदायिक वनको दिगो व्यवस्थापनका माध्यमबाट सामुदायिक वन उद्यमको विकास गरी देशको गरिबी न्यूनीकरण तथा बेरोजगारीको जल्दोबल्दो समस्या घटाउन सकिने प्रवल सम्भावना छ । 

दक्ष जनशक्तिको विकास
नेपालको हरियाली वन क्षेत्र र सामुदायिक वनहरुमा दिगो र सक्रिय वन व्यवस्थापन कार्य सञ्चालन गर्दा र दिगो वन व्यवस्थापनबाट प्राप्त वन पैदावारमा आधारित वन उद्यमहरु सञ्चालन गर्दा ठूलो संख्यामा दक्ष जनशक्तिको आवश्यकता पर्दछ । यस्तो खालको जनशक्तिको मागलाई पूरा गर्नका लागि तालिम, शिक्षा, गोष्ठी आदि क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दा स्वदेशमै दक्ष जनशक्तिको विकास गर्न सकिन्छ । सामुदायिक वन उद्यम सञ्चालन गर्दा विकास भएको दक्ष जनशक्तिले स्वदेशमै रोजगारीको अवसर पाउने र वेतका कालिगढ छिमेकी देश भारतबाट ल्याउनुपर्ने बाध्यता हट्दै जानेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ