सर्लाहीमा उखु खेतीमा भीषण आगलागी: ५० बिघाभन्दा बढी बालि नष्ट
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
688
Shares
सर्लाही। सर्लाही जिल्लाको गोडैता नगरपालिका–४, रोहुवास्थित उखु खेतीमा सोमबार दिउँसो भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यो आगलागी स्थानीय किसान मुना चौँधरीको उखु खेतबाट सुरु भएको थियो र विद्युतको तार सर्ट भएर भएको थियो।
आगलागीबाट करिव ५० बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको उखुबाली पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको छ। नगर प्रमुख देबेन्द्र यादवले दिएको जानकारी अनुसार, प्रारम्भिक अनुमान अनुसार यस आगलागीबाट करिब रु ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यस आगलागीले दर्जनौँ किसानको उखु बाली जलेर नष्ट भएको छ। यसअघि खडेरी, त्यसपछि भीषण बाढी र अहिले काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखुबाली आगलागीले नष्ट भएपछि स्थानीय किसानको जीवनयापनमै गहिरो असर परेको छ।
नगर प्रमुख यादवले आगलागीबाट प्रभावित किसानहरूका लागि नेपाल सरकार तथा मधेश प्रदेश सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेका छन्। साथै, उनले सम्पूर्ण नगरवासीलाई आगलागीको जोखिम न्यूनीकरण गर्न बाटो तथा खेतबारी आसपास पराल, पत्थर वा ज्वलनशील वस्तु नराख्न आग्रह गरेका छन्।