arrow

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे: भोलि कतार उड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
hatti-quatar.jpg

काठमाडौँ। नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन्। यी हात्तीलाई बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै कतार लैजाने तयारी गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४:०० बजे भैरहवा पुगेका हुन्। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले ती हात्तीलाई विमानस्थलको छेउमा रहेको खाली जग्गामा राखिएको छ।

ती हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिएको थियो र उनीहरूलाई विशेष खोरमा राखी ट्रकमा पठाइएको हो।

बुधबार वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले भैरहवामा नै कतारी दूतावासलाई ती हात्ती हस्तान्तरण गर्नेछन्। हस्तान्तरण गरिएपछि कार्गो विमानमार्फत ती हात्तीलाई कतार पठाइनेछ।

रुद्रकली र खगेन्द्रप्रसाद हात्तीहरू रोनाल्डो नामक जङ्गली भाले हात्तीका बच्चा भएको निकुञ्जले जनाएको छ। हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्तीहरू जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन्।

नेपालले यसअघि विभिन्न देशलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ। दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिइँदै आइएको हो। नेपालले पहिलोपटक हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ