बागमती प्रदेशको राजस्व अवस्था, पाँच महिनामा १६ अर्ब ११ करोड सङ्कलन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
694
Shares
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशत अर्थात् १६ अर्ब ११ करोड ७ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सन्यालले दिएको जानकारी अनुसार प्रदेश सरकारको मुख्य आयस्रोत मानिने घरजग्गा रजिष्ट्रेशन र सवारीसाधन करसहित अन्य शीर्षकमा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार सङ्कलन गर्ने अनुमान गरिएकामा मङ्सिर मसान्तसम्म लक्ष्यको २८ दशमलव ६३ प्रतिशत अर्थात् ८ अर्ब ८४ करोड ४७ लाख ७७ हजार रुपैयाँ मात्र सङ्कलन भएको छ।
राजस्वका विभिन्न शीर्षकहरू मध्ये घरजग्गा रजिष्ट्रेशनबाट ७ अर्ब ७० करोड उठाउने लक्ष्य राखिएकामा पाँच महिनामा १ अर्ब ६६ करोड ८५ लाख ५९ हजार मात्र सङ्कलन भएको छ। त्यसैगरी सवारीसाधन जाँचपास, रुट अनुमति र अनुमतिपत्र नवीकरण लगायतका सवारी कर शीर्षकबाट ८ अर्ब २५ करोड सङ्कलन गर्ने अनुमान गरिएकामा हालसम्म २ अर्ब ९५ करोड ८६ लाख २३ हजार रुपैयाँ संकलन भएको छ।
बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान रहेकामा ३ अर्ब ६ करोड ८६ लाख ७१ हजार सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत ४ अर्ब ३ करोड ७९ लाख ९ हजारको अनुमानमा १ अर्ब ७ करोड २३ लाख ५९ हजार प्राप्त भएको छ।
सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ १४ अर्ब ८१ करोड ९३ लाखको लक्ष्य रहेकामा पाँच महिनामा ३८ दशमलव ३८ प्रतिशत अर्थात् ५ अर्ब ६८ करोड ७५ लाख ३० हजार प्राप्त भएको छ। प्रदेशको आफ्नै आन्तरिक स्रोतबाट ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा लक्ष्यको ३१ दशमलव ४४ प्रतिशत अर्थात् १ अर्ब ५० करोड २१ लाख ९७ हजार सङ्कलन भएको छ।
आर्थिक तरलताका कारण घरजग्गा र नयाँ सवारीसाधनको कारोबारमा आएको मन्दी तथा गत भदौमा भएको प्रदर्शनका क्रममा राजस्व सङ्कलन गर्ने निकायहरूमा पुगेको भौतिक क्षतिका कारण अपेक्षाकृत राजस्व उठ्न नसकेको मन्त्रालयले जनाएको छ।