एक दशकदेखि बन्द पशुपति क्षेत्रको पश्चिमी बाहिरी ढोका खुला
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
964
Shares
तस्बिर : फाइल
काठमाडौँ । गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका लामो समयपछि बिहीबारदेखि खुला गरिएको छ ।
सम्पदा बचाउ अभियानकर्मीको समूहले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसाललाई भेटी प्रहरी वृत्त गौशालासँगैको सो ढोका खोल्न अनुरोध गरेको थियो ।
अभियानकर्मी प्रकाश रायमाझी नेतृत्वको समूहको अनुरोधपछि कोषले बिहीबारैदेखि प्रहरी वृत्ततर्फको बाहिरी ढोका खुला गरेको हो । करिब एक दशकदेखि यो ढोका बन्द गरिएको थियो ।
अभियानकर्मीले विश्व सम्पदा क्षेत्रमा आफूखुशी जथाभावी गर्न थालेपछि त्यसो नगर्न सुझाव दिएको रायमाझीले बताए । सदस्य सचिव भुसाललाई अनुरोध गरेको केही समयमै ढोका खुला भएको उनले सुनाए ।
रायमाझीले यसअघि पशुपतिनाथ मूल मन्दिरभित्रको फलामको रेलिङ हटाउन पनि भूमिका खेलेका थिए ।