एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस अन्तिम साता बस्ने
सल्लाहकार परिषद् गठन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
845
Shares
काठमाडौँ । नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले आगामी पुस २६, २७ र २८ गते दोस्रो बैठक बोलाउने निर्णय गरेको छ।
शुक्रबार काठमाडौँमा बसेको बैठकले पुसको अन्तिम साता केन्द्रीय कमिटीको अर्को बैठक बसी महत्वपूर्ण साङ्गठनिक निर्णयहरू लिने तय गरेको हो।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले पार्टीले केन्द्रीय सल्लाहकार परिषद् समेत गठन गरेको बताए।
यसका साथै बैठकले ११औँ राष्ट्रिय महाधिवेशनबाट पारित भएको संशोधित विधानलाई एक हप्ताभित्र सम्पादन र प्रकाशन गरी पार्टीका सबै तहका कमिटीहरूमा पठाउने प्रस्ताव समेत पारित गरेको छ।
बैठकले पार्टीका नेताहरूको कार्यविभाजन गर्ने पूर्ण अख्तियारी केन्द्रीय सचिवालयलाई सुम्पिएको छ। सचिवालयले अब नेताहरूको जिम्मेवारी बाँडफाँट र कार्यविभाजनको खाका तयार पार्नेछ।
उपमहासचिव भट्टका अनुसार महाधिवेशनले पारित गरेका नीति र संशोधित विधानलाई तल्लो तहसम्म पुर्याउनु अहिलेको मुख्य प्राथमिकता रहेको छ। साथै, एमालेले ११औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै यस प्रक्रियामा सहभागी सम्पूर्ण प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकहरूलाई विशेष धन्यवाद समेत व्यक्त गरेको छ।
आगामी पुस २६ गतेदेखि सुरु हुने बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्यूरो चयन लगायतका साङ्गठनिक कामलाई पूर्णता दिने अपेक्षा गरिएको छ।