arrow

लुम्बिनीको गौरव आयोजना

प्रादेशिक अस्पताल निर्माणको विनियोजित बजेट सकियो, पैतालीस करोड भुक्तानी बाँकी

logo
नारायण वली,
प्रकाशित २०८२ पुष ५ शनिबार
lumbini province hospital-butwal.jpg

लुम्बिनी । प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको बाह्र तले अत्याधुनिक नयाँ भवन निर्माणका लागि चालु आर्थिक बर्ष २०८२/०८३ मा विनियोजन गरिएको बजेट पहिलो चार महिनामै सकिएको छ। लुम्बिनी प्रदेशले अस्पताल निर्माणका लागि चालु आर्थिक बर्ष २०८२/०८३ मा विनियोजन गरेको एक अर्ब रुपैयाँ सकिएको हो । 

उक्त विनियोजित रकममध्ये अघिल्लो आर्थिक बर्षमा भएको कामको भुक्तानी गर्न बाँकी रहेको एकानब्बे करोड रुपैयाँ भुक्तानीमा सकिएको, बाँकी नौ करोड रुपैयाँ चालु निर्माणकार्यको भुक्तानी गरेपछि पनि पुस ४ गतेसम्म थप ४५ करोड रुपैयाँ भुक्तानीका लागि बिल आएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका तर्फबाट भवन निर्माणमा खटिएका साइट इञ्जिनियर शंकर सुवेदीले बताएका छन् । इञ्जिनियर सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्र ४७ प्रतिशत काम पूरा गर्नुपर्ने कार्यतालिका बमोजिम अझै एक अर्ब ६ करोड रुपैयाँ आवश्यक पर्दछ । 

हामीले बक्यौता रहेको ४५ करोड रुपैयाँ भूक्तानीको लागि र थप आवश्यक बजेटका लागि करिव एकहप्ता अघि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्र पठाएका छौं । स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाउनेछ, इञ्जिनियर सुवेदीले भने । जसले गर्दा चालु आर्थिक बर्षमा भवन निर्माण गर्न बजेट अभाव देखिएको हो । 

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर छविराज पोख्रेलले अभाव भएको बजेटबारे प्रदेश सरकार र संघीय सरकारलाई ध्यानाकर्षण गराएको बताए । उनले पुस ३ गते संघीय अर्थमन्त्री रामेश्वर खनाललाई निर्माणाधिन अस्पतालको भवन अनुगमन गराएको बताउँदै, सो क्रममा मन्त्री ज्युले सकारात्मक चासो जगाउनु भएको छ । ठेकेदार पक्षले काम रोकेको छैन्, काम रोकिन्न पनि, बक्यौता रकमको भुक्तानीका लागि पहल गरिरहेका छौं, आर्थिक बर्ष सकिने बेलासम्म भुक्तानी गरिसक्ने प्राधिकरणका प्रमुख इञ्जिनियर पोख्रेलको भनाई छ । यता निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरको प्रतिनिधसँग बजेट थप नभएको अवस्थामा निर्माण कार्य के हुन्छ ? बक्यौता बढ्दै गयो र भुक्तानीमा ढिलाई भयो भने कसरी व्यवस्थापन गरेर निर्माणकार्यलाई जोड दिनुहुन्छ ? भन्ने जिज्ञासाका लागि निर्माण कम्पनीका प्रोग्रेस इञ्जिनियर सुदन रावत मार्फत् सम्पर्क गरेपनि सम्पर्क हुन सकेन । 

दशकै सबैभन्दा ठूलो १२ सय शैंयाको १२ तलाको अत्याधुनिक सुविधासहितको अस्पताल बनाउन २०८० साल पुस २६ गते प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको आठ महिनापछि २०८१ भदौ १५ गते मात्रै भवनको शिलान्यास गरी निर्माणको काम अगाडि बढाइएको थियो । 

६ बिगाह १२ कट्ठा क्षेत्रफलमा २०१६ सालमा बनेका अस्पतालका पुराना संरचना भत्काएर १२ तलाको मुख्य भवन निर्माण गर्न थालिएको छ । यसअघि निर्माण गरिएका डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति, महिला तथा बाल रोग, जनरल वार्ड र शल्यक्रिया भवनहरु भने यथावत् राखिएका छन् । हाल भवन निर्माणका लागि ३ सय जना जनशक्ति परिचालन गरिएको छ । निर्माण शुरु भएको १४ महिनामा ३० प्रतिशत भौतिक र वित्तीय तर्फ २६.६२ प्रतिशत प्रगति भएको प्रदेश पूर्वाधार कार्यालयले जनाएको छ । 

उपकरण, सुविधा सम्पन्न दुई वटा भवन र आन्तरिक व्यवस्थापनसहित ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार लागत अनुमान गरिएकोमा भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगेसनले ६ अर्ब १८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका थिए । ठेक्का सम्झौता अनुसार २०८५ पुस २५ गतेभित्र (अर्थात् ५ वर्षभित्र) भवन निर्माणकार्य सक्नुपर्ने उल्लेख छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ