जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल घोषणाले उपत्यकाका निजी विद्यालय बन्द
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
1.2k
Shares
तस्बिर : फाइल
काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ ।
विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएका छन् । उनीहरुले विद्यालयको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन तथा समग्र शैक्षिक वातावरणको संरक्षणका लागि विद्यालय बन्द रहने निर्णय गरिएको जानकारी गराएका छन् ।
निजी विद्यालयका छाता संस्थाहरूले भने विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने बारेमा औपचारिक निर्णय गरेका छैनन् । प्याब्सन र एनप्याब्सनले सम्बन्धित विद्यालयलाई नै निर्णय गर्न भनेका छन् ।
आइतबार बसेको उनीहरुको छलफल बिना निर्णय टुंगिएको थियो ।
यता सरकारदेखि स्थानीय तहले पनि केही बोलेका छैनन् । शिक्षा मन्त्री महावीर पुनले विभिन्न विषयमा बिहानै सामाजिक सञ्जालमा मत राख्दै आए पनि उपत्यकाभित्रका विद्यालयहरु ठप्प हुँदासमेत कुनै प्रतिक्रिया जनाएका छैनन् ।
मन्त्री पुनले आइतबार मात्रै नेपाल भरिका धेरै विद्यालयहरुमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतिकरण हटाउन स्थानीय अभिभावकहरु एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनी नदिएसम्म सुधार हुन गाह्रो छ’ भनी लेखेका थिए ।
उनले सामाजिक सञ्जालमै ‘त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरुलाई दिएको छ । शिक्षा मन्त्रालयले मात्र काठमाडौँबाट निर्देशन दिएर नपुग्ने भयो’ भनी लेखेका छन् ।
उनको यो स्टाटसले भने हड्ताल गर्ने जनवर्गीय विद्यार्थी युनियनलाई सघाउ पुर्याएको देखिन्छ ।
उक्त युनियनले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक एवं नेपाली नागरिकलाई यही चुनावबाट मताधिकार सुनिश्चित गर्नुपर्ने, निजी विद्यालयको शुल्क घटाउनुपर्ने लगायतका माग राखेको छ ।
युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले जारी गरेको विज्ञप्तिमा आजको हड्ताल सफल पार्न आह्वान गरिएको छ ।