श्रम स्वीकृति र राहदानी वडा तहबाटै दिने व्यवस्था गरिँदै: श्रममन्त्री भण्डारी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
703
Shares
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी र श्रम स्वीकृति लगायतका महत्त्वपूर्ण कागजात वडा तहबाटै उपलब्ध गराउने गरी सरकारले गृहकार्य गरिरहेको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित 'अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान' को शुभारम्भ गर्दै उनले यस्तो योजना सार्वजनिक गरेका हुन्।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने युवाहरूले श्रम स्वीकृति र राहदानी बनाउने प्रक्रियामा ठगी र प्रशासनिक झमेला बेहोर्नुपरिरहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि स्थानीय वडा कार्यालयलाई नै जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।
"सानो कामका लागि पनि केन्द्र धाउनुपर्ने र अनेक सास्ती खेप्नुपर्ने भएपछि नेपाली युवाहरू विरक्तिएर विदेश पलायन भइरहेका छन्," उनले भने, "राज्यले आफ्नो उपस्थिति वडा तहसम्म देखाउन नसक्दा युवाहरू दलालको फन्दामा पर्ने गरेका छन्।"
उनले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई बिना ब्याजको ऋण (सहुलियतपूर्ण ऋण) र सबै कानुनी प्रक्रिया गाउँपालिकामै बसेर पूरा गर्न सक्ने वातावरण बनाउन आफूले सचिवसँग सल्लाह गरिरहेको र यसमा छिट्टै निष्कर्षमा पुग्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रश्न गरे, "श्रम स्वीकृति लगायतका सबै चिज वडा-वडाबाट दिए हुँदैन? हामी किन झमेला सिर्जना गरिरहन्छौँ?"
मन्त्री भण्डारीले राज्यको अनुपस्थितिका कारण श्रमिकहरू देशभित्रै ठगीको चपेटामा परेको स्वीकार गर्दै युवाहरूलाई स्वदेशमै श्रम गर्ने सङ्कल्प गर्न समेत आग्रह गरे। उनले नेपाली युवाहरूमा माग बढी राख्ने तर काम नगर्ने प्रवृत्ति देखिएको भन्दै त्यसलाई सुधार गरी सिर्जनशील बन्न सुझाव दिए।