जेलेस्कीले सार्वजनिक गरे अमेरिकाको नेतृत्वमा तयार गरिएको नयाँ २० बुँदे योजना
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
2k
Shares
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको नयाँ २० बुँदे योजना सार्वजनिक गर्दै रुसी आक्रमण अन्त्य गर्न र दीर्घकालीन शान्ति स्थापना गर्ने प्रयास अघि बढाइएको जानकारी दिएका छन् ।
उनले बताएअनुसार यो योजना किएभ र वाशिङ्टनबीच सहमति भइसकेको र मस्कोमा प्रतिक्रिया पाउन पठाइएको छ ।
योजनामा युक्रेनको सार्वभौमिकता पुनः पुष्टि गरिने, युक्रेन-रूसबीच पूर्ण गैर-आक्रमण सम्झौता हुने, युक्रेनलाई सुरक्षा प्रत्याभूति दिइने, युक्रेनी सेनाको क्षमता कायम रहने र नाटो, अमेरिका तथा युरोपेली साझेदारहरूले आवश्यक सुरक्षा समर्थन प्रदान गर्ने प्रावधान समावेश छन् ।
साथै, युक्रेनले यूरोपेली सङ्घमा सदस्यता हासिल गर्ने, अर्थव्यवस्था र पूर्वाधारको पुनर्निर्माणका लागि विकास प्याकेज लागू गर्ने, डनिप्रो नदी र कालो सागरमा व्यापारको पहुँच सुनिश्चित गर्ने र जापोरिज्जिया परमाणु ऊर्जा स्टेशन युक्रेन, अमेरिका र रूसको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
मानवतावादी समितिको स्थापना गरिने, युद्धबन्दी र अन्य कैदीहरूको आदान-प्रदान सुनिश्चित गरिने, युक्रेनमा छिट्टै निर्वाचन सम्पन्न गरिने, र सम्झौताको कानूनी कार्यान्वयन शान्ति परिषद्को निगरानीमा हुने प्रावधान पनि योजनाअन्तर्गत रहेका छन् ।
सबै पक्ष सहमत भएपछि तत्काल पूर्ण युद्धविराम लागू हुनेछ । राष्ट्रपति जेलेंस्कीले यस योजनाले युक्रेन-रूस द्वन्द्व अन्त्य गर्न र दीर्घकालीन शान्ति स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । एजेन्सी