arrow

राप्रपाको एजेण्डा : राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्था, संघीयताको पक्षमै

महाधिवेशनमा ३४ सय ७० प्रतिनिधि सहभागि हुने

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
raparpa-news-aa.jpeg

काठमाडौं । एकताको पहिलो एतिहासिक महाधिवेशनमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संघीयताकै पक्षमा उभिएको छ । मंगलबार पार्टी महाधिवेशनको तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा प्रचार–प्रसार समिति संयोजक एवं महामन्त्री राजेन्द्र लिङ्गदेनले भने, ‘हामीले संघीयताबारे हामीले स्पस्ट बोलेका छौँ । नेपालको हकमा संघीयता आवश्यक छैन । तर, संघीयता अहिलेको यथार्थ पनि हो । संघीयता हुँदा हिमाल, पहाड तराई नछुट्टिएको हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो । सबैलाई मान्य हुने संघीयता भए आपत्ति छैन ।’

यस्तै, दुई धारबाट एक धार भएको राप्रपा ढुलमुले जस्तो देखियो भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै महामन्त्री लिङ्गदेनले भने, ‘यसमा अलमलिनु पर्दैन । राज संस्थाको बारेमा हामी विश्वस्त छौँ । राजनीतिक कार्यपत्र पारित भइसकेको छ ।’

लिङ्गदेनल अगाडि भने, ‘सार्वभौमसत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिहरुले गर्ने तथा संसद र संविधान अन्तर्गत रहेको राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्था रहने । यो हाम्रो मान्यता वा एजेण्डा हो ।’

महाधिवेशनमा देशभरबाट ३४ सय ७० प्रतिनिधि सहभागि हुने
राप्रपाले ऐतिहासिक प्रथम एकता महाधिवेशन नाम दिएको महाधिवेशन फागुन ६ देखि ९ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । महाधिवेशन ६ गते विहान साढे ११ बजेपछि पार्टीका कार्यकारी अध्यक्ष कमल थापाले उद्घाटन् गर्ने कार्यक्रम छ । महाधिवेशन उद्घाटन् समारोहमा १ लाख बढी जनसहभागिता रहने प्रचार समितिको आँकलन छ ।

पत्रकार सम्मेलनमा प्रचार–प्रसार समिति संयोजक लिङ्गदेनले भने, ‘देशका विभिन्न तहबाट विधान बमोजिम निर्वाचित भइ आएका नगर, क्षेत्र, जिल्ला र भ्रातृ संगठन सहित गरी जम्मा ३४ सय ७० प्रतिनिधि सहभागि हुनेछन् ।’ महाधिवेशनमा अध्यक्ष कमल थापाले राजनैतिक, वैचारिक कार्यपत्र, राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीबाट आर्थिक कार्यपत्र र विधान मस्यौदा सममितिका संयोजक एवं पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ्गबाट विधानको मस्यौदा प्रस्तुत हुने जानकारी दिइएको छ । कार्यपत्रहरु र विधानलाई पार्टीका ३ दिन सम्म चलेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अनुमोदन गरेको बताइएको छ ।

समावेशी
समावेशीतालाई ध्यान दिन महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, मुस्लीम, अपाङ्ग, र पिछडिएका समूदायको प्रतिनिधित्व रहने बाध्यात्मक व्यवस्था बमोजिम ६४४ महिला ३ सय १५ दलित अनिवार्य गरिएको छ । यस्तै, अल्पसंख्यक, मुस्लिम, सम्बन्धित क्षेत्रमा बसोवास गर्ने तर कम जनसंख्या भएका आदिवासी जनजाति, अपाङ्ग ३१५ अनिवार्य गरिएको बताइएको छ ।

हाइटेक महाधिवेशन
राप्रपाको महाधिवेशन हाइटेक महाधिवेशन हुने समेत बताइएको छ । उदघाटन् समारोह देशमा मूख्य टेलिभिजन र रेडियोबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । महाधिवेशन स्थल वरपर डिजिटल डिस्प्ले बोर्ड राखिने, यूटुब र फेसबुक लाइभ, महाधिवेशन स्थलभित्र अत्याधुनिक तीब्र गतिको इन्टरनेटसहितको मिडिया सेन्टर बनाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । उद्घाटन समारोहका दिन राजधानीका विभिन्न ५४ स्थानबाट जुलुस निकाल्ने तयारी भएको बताइएको छ ।

महाधिवेशनमा ७ सय स्वयंसेवक परिचालन र तीन तहको सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको जानकारी दिइएको छ । यसैगरी, महाधिवेशनमा सहभागि प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकका लागि महाधिवेशन स्थलमै आवास र भोजनको व्यवस्था गरिएको छ । महाधिवेशनकोे प्रचारलाई मर्यादित बनाउन वाल पेन्टिङ र पोष्टर टाँस नगर्ने निर्णय गरिएको पनि प्रचार–प्रसार समिति संयोजक लिङ्गदेनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ