रौतहटमा चुनावी सरगर्मी: २१ हजार नयाँ मतदाता थपिए, मतदान केन्द्र र स्थलमा पनि वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
785
Shares
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट जिल्लामा चुनावी तयारी तीव्र पारिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार मतदाताको सङ्ख्या बढेसँगै मतदान प्रक्रियालाई सहज बनाउन मतदान स्थल र केन्द्रहरूको सङ्ख्यामा थप गरिएको छ।
मतदाता र केन्द्रको पछिल्लो अवस्था जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार २०७९ सालको निर्वाचनको तुलनामा यस पटक रौतहटमा २१ हजार १५६ जना नयाँ मतदाता थपिएका छन्। योसँगै जिल्लामा कुल मतदाताको सङ्ख्या ४ लाख ३६ हजार ६११ पुगेको छ। २०७९ को निर्वाचनमा यहाँ ४ लाख १५ हजार ४५५ मतदाता रहेका थिए।
मतदाताको चापलाई मध्यनजर गर्दै यस वर्ष जिल्लामा १८ वटा नयाँ मतदान केन्द्र थपिएका छन्। अघिल्लो निर्वाचनमा ५२३ वटा मतदान केन्द्र रहेकोमा अब ५४१ वटा केन्द्र कायम भएका छन्। त्यसैगरी, गरुडा नगरपालिका–६ मा एक नयाँ मतदान स्थल थपिएसँगै जिल्लाभर कुल मतदान स्थलको सङ्ख्या २७७ पुगेको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रको संक्षिप्त सन्दर्भ ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रौतहटमा १६ नगरपालिका र २ गाउँपालिका गरी कुल १५७ वडाहरू रहेका छन्। २०७९ को निर्वाचनमा यस जिल्लाबाट क्षेत्र नं. १ बाट माधवकुमार नेपाल, क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार किरण साह, क्षेत्र नं. ३ बाट आजपा अध्यक्ष प्रभु साह र क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसका देवप्रसाद तिमल्सिना निर्वाचित भएका थिए। सो निर्वाचनमा कुल मतदातामध्ये २ लाख ८२ हजार ४३० जनाले मतदान गरेका थिए।