लुम्बिनी । ऐतिहासिक एवं धार्मिक सम्पदा, सांस्कृतिक विविधता र विकसित भौतिक पूर्वाधारका दृष्टिले बुटवल पर्यटनको सम्भावना बोकेको शहर भए पनि समुचित योजना, र दीर्घकालीन पूर्वाधारको विकास नभएकाले बुटवलमा आउने पर्यटकहरु बास नबसी अन्यत्र जाने गरेका छन् ।
पश्चिम नेपालको व्यापारिक हबको रुपमा परिचित बुटवल सहर आसपासमा पर्यटनका प्रशस्त सम्भावना भएता पनि पर्यटक भित्र्याएर दुई चार दिन बास बसालेर भुलाउने खालका पूर्वाधार नहुँदा यहाँ आउने भारतीय एवं अन्य पर्यटकहरु पाल्पा, पोखरा, मुक्तिनाथ र ढोरपाटनजस्ता पर्यटकीय गन्तव्यतर्फ जाने प्रवेशद्वारका रुपमा रहेको आधुनिक बुटवल ट्रान्जिट बन्न सकेको छैन ।
बुटवलले २०४५ सालमा पहिलोपटक मेला महोत्सव आयोजना गरेर नेपालमा तिथि बसालेको दाबी गरिने र ०५३ सालदेखि निरन्तर पर्यटन प्रर्बद्धनको नारालाई समेत महत्वाकांक्षी दिँदै पर्यटन महोत्सव लगाउँदै आएका विभिन्न नामका व्यवसायीक संघसंस्थाहरुले महोत्सवबाट हुने आम्दानीलाई बुटवलमा पर्यटक बिसौनाका पूर्वाधार बनाउनतर्फ उन्मुख नभएको देखिन्छ ।
होटल तथा रेष्टुरेण्ट संघ रुपन्देहीका पूर्वअध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष र बुटवल सडक खाना महोत्सवका संस्थापक योजनाकार समुन्द्र जिसीले पर्यटकीय क्षेत्रको विकास र यसले देखाएको सम्भावनालाई मूर्तरुप दिनका लागि संघ सस्थाहरु बिचमा एकता, समन्वय र सहकार्य हुनुपर्ने बताए ।
उनले गौतमबुद्ध जन्मस्थल लुम्बिनी, मावली देवदह, ऐतिहासिक महत्व बोकेको तिलोत्तमा, शंकरनगर बनबाटिका, सैनामैना रानीकुवा, बोलबमधाम, गजेडी ताल, जितगढी किल्ला, ऐतिहासिक उजिरसिंह, फुलबारी, पिसपार्क, रामापिथेकस क्षेत्र, हिलपार्क, नुवाकोट, बसन्तपुर र सिद्धबाबाको प्रचारप्रसार गरेर यहाँ आउने पर्यटकलाई बुटवलमा केही दिन बास बसालेर कसरी भुलाउन सकिने कुरामा यहाँका सरोकारवालाहरुमा गम्भीरता नदेखिएको बताए ।
पर्यटकका लागि होटल निर्माण भएपनि पर्यटकीय विश्रामस्थलको विकास हुन नसकेको र बुटवललाई स्थानीय प्वाईन्ट एवं बाह्य पर्यटकको बिसौनीको रुपमा बिकास गर्न सके बुटवलमा पर्यटकहरु प्याकेज बनाएर घुम्न आउने पर्यटकीय स्थलको निर्माण र पर्यावरणीय क्षेत्रमा लामो समयदेखि अनुभव संगालेका हाल शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाका अध्यक्ष खिमलाल पाण्डेले बताए । स्थानीय तह र सरोकारवालाको सहकार्यमा लगानी गरेर बुटवलको मौलिक परिकार र संस्कृतिलाई व्यावसायिककरण गर्न होमस्टेको बिकास गरेमा पर्यटक बिसाउने थलो बन्ने उनको भनाइ छ।
नेपाल उद्यान महासंघ केन्द्रीय अध्यक्ष खेमप्रसाद लुईँटेल पर्यटकीय क्षेत्र, उत्पादन, सेवाबारे जानकारी दिने संस्कृतिको विकास गर्नुपर्ने बताउँछन् । उनले धार्मिक पर्यटक र नगर भित्रका उद्यानमा मान्छेलाई भुलाउने केन्द्र बनाउँदै झोलामा पैसा ल्याएर खर्च गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
जिल्लामा ऐतिहासिक, साँस्कृतिक, भौगोलिक, प्राकृतिक हिसाबले धनी भएता पनि पर्यटनको विकासमा न स्थानीय पालिका, न प्रदेश सरकारले स्पष्ट नीति तर्जुमा गर्न सकेको छ ।
अवसर भएर मात्रै हुँदैन त्यसलाई कार्यान्वयन गर्ने र गराउने निकाय जिम्मेवार बन्नुपर्छ, बुटवलसहित लुम्बिनी र प्रदेशका जिल्लाहरुमा रहेका स्थानमा बहुसांस्कृतिक पार्क बनाउन सकेमा पर्यटकलाई भित्र्याउन सकिने र बसाई पनि लम्ब्याउन सकिने भन्दै त्यसतर्फ ध्यान नगएको जनाए ।