arrow

घोराही-तुलसीपुर सडक निर्माणको काम तीव्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
pich-road.jpg

दाङ । घोराही-तुलसीपुर चार लेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ ।

अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ्ग’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ ।

अबको केही समयपछि ग्राभेल राख्ने काम शुरू गरिने निर्माण कम्पनी श्री दिवा-बन्दना भगवती जेभीले जनाएको छ ।

घोराहीको डीके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चार लेन बनाइने गरी सम्झौता भए पनि पहिलो चरणमा सौडीकुलादेखि गुर्जेखोलासम्मको काम शुरू गरेको कम्पनीका कन्ट्रयाक्ट म्यानेजर सुनील ढुङ्गानाले बताए ।

उनका अनुसार सो क्षेत्रमा सडकमा पर्ने विद्युत् खम्बालाई व्यवस्थापन गर्नका लागि विद्युत् कार्यालयलाई अनुरोध गरिएको छ ।

गत मङ्सिर १ गतेदेखि दुई स्काभेटर लगाएर काम शुरूआत गरिएता पनि अहिले भने एक दर्जन बढी सवारीसाधन, रोलिङ मेसिन र आवश्यकताअनुसार मजदुर थप गरेर कामलाई तीव्र रुपमा अघि बढाइएको छ ।

“जति सक्यो छिटो काम सक्ने गरी अगाडि बढेको भन्दै सम्झौता मितिभन्दा अघि सक्ने हाम्रो लक्ष्य छ”, उनले भने, “त्योअनुसार हामीले काम अघि बढाएका छौँ ।”

अहिले माटो ‘फिलिङ्ग’ गर्ने र झाडीफाल्ने माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम भइरहेको छ ।

उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्र हुनेछ भने चौडाइ चार लेनको हुनेछ ।

बीचबीचमा मेडिएन र दुवैतर्फ दुई/दुई लेनको हुने उनले बताए । त्यसमा बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुनेछ भने अन्य स्थानमा चार लेन मात्रै हुनेछ ।

सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइने छ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम शुरू हुनेछ ।

चार लेनकै कामको सहजताका लागि सडक खण्डकै बेलझुण्डी रङ्गशालाको उत्तरतर्फ रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी क्रसर स्थापना गरिएको छ ।

पानीका लागि डिपबोरिङ र त्यही साइड अफिस राखिएको छ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको छ ।

निर्माणको प्राविधिक जिम्मा सडक डिभिजन कार्यालयले पाएको छ। सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । त्यसमा ढुङ्गा, गिट्टी र बिटुमिनतार मिसाएर कालोपत्र गरिनेछ ।

सम्झौता भएको मितिले ३६ महिनामा सक्ने गरी सम्झौता भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए ।

उनका अनुसार असारमा श्री दिवा-बन्दना भगवती जेभीसँग सम्झौता भएको हो । भ्याटबाहेक दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक निर्माण हुनेछ ।

मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानको काम भएर गत फागुन १ गते बोलपत्र आह्वान भएको थियो ।

उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ । यसअघि सडकमा ठेक्का लागे बीचमै अलपत्र छाड्दा आवतजावतमा समस्या हुनुका साथै यात्रुहरू निकै मारमा थिए ।

“अहिले सडक निर्माणको कार्य दिनप्रति दिन निरन्तर अघि बढेकाले अब भने बाटो बन्छ भन्नेमा ढुक्क भएका छौँ”, सौडिकुला निवासी रामबहादुर चौधरीले भने ।

यसैबीच सडक डिभिजन कार्यालयले अहिले सडक निर्माणको काम भइरहेकाले सहजतापूर्वक यात्रा गर्न आम सवारीचालकलाई अनुरोध गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ