सुगममा २५ र दुर्गममा ३३ लाख: प्रतिनिधि सभा निर्वाचनका लागि आयोगको नयाँ खर्च मापदण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
799
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ। भूगोल र निर्वाचन क्षेत्रको सुगमता एवं दुर्गमताका आधारमा आयोगले न्यूनतम २५ लाखदेखि ३३ लाख रुपैयाँसम्मको खर्च सीमा निर्धारण गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काठमाडौँका क्षेत्र नं १, ३, ६, ७ र ८ का उम्मेदवारले सबैभन्दा कम अर्थात् २५ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउनेछन्।
आयोगको निर्णयअनुसार १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारका लागि २७ लाख, ६५ वटा क्षेत्रका लागि २९ लाख, ५२ वटा क्षेत्रका लागि ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारका लागि अधिकतम ३३ लाख रुपैयाँको खर्च सीमा तोकिएको छ। निर्वाचनलाई पारदर्शी बनाउन उम्मेदवारले अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोहीमार्फत मात्र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, उम्मेदवारले आफ्नो तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ।
निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले तोकिएको सीमाभित्र रहेर गरिएको खर्चको सम्पूर्ण विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। प्रतिनिधि सभा सदस्य ऐनबमोजिम विवरण नबुझाउने वा सीमा उल्लंघन गर्ने उम्मेदवारमाथि आयोगले कारबाहीको प्रक्रिया अघि बढाउनेछ।