arrow

राष्ट्रिय सभा गृहमा जुट्दै दुई राप्रपा

'हलो' नै चुनाव चिह्न रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
kamal-rajendras.jpg

काठमाडौँ । विगत केही वर्षदेखि अलग–अलग अस्तित्वमा रहेका दुई दक्षिणपन्थी शक्तिहरू-राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच आज औपचारिक रूपमा एकता हुँदैछ। 

विसं २०७८ मङ्सिरमा भएको राप्रपाको सातौँ महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले असन्तुष्टि व्यक्त गर्दै २०७८ माघ २५ गते राप्रपा परित्याग गरी 'राप्रपा नेपाल'लाई पुनर्जीवन दिएका थिए। 

करिब चार वर्ष लामो विभाजनपछि आज दिउँसो १ बजे काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको विशेष समारोहमा दुवै पार्टी एकीकृत भएको घोषणा गरिनेछ।

पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रम, राजावादी र हिन्दूवादी शक्तिहरूको ध्रुवीकरणको आवश्यकता तथा आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै दुवै नेताहरू एकताका लागि तयार भएका हुन्। 

पुस ९ गते साँझ धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा अध्यक्ष लिङ्देन र अध्यक्ष थापाले एकताको प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्। सहमति अनुसार एकीकृत पार्टीको नाम 'राष्ट्रिय प्रजातन्त्र पार्टी' नै रहनेछ भने चुनाव चिह्न 'हलो' र झण्डा पनि राप्रपाकै कायम हुनेछ। 

नेतृत्वको सन्दर्भमा राजेन्द्र लिङ्देन नै अध्यक्ष रहने र कमल थापालाई 'पूर्व अध्यक्ष' को मर्यादा र सोही अनुसारको जिम्मेवारी दिने गरी कार्यविधि तयार पारिएको छ। यो एकतासँगै राप्रपाले आफूलाई मुलुकको एक बलियो राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने दाबी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ