प्रधानमन्त्रीको उपस्थितिमा 'समृद्धिका लागि सहकार्य' बहस
शान्ति, स्थायित्व र समृद्धिका लागि राष्ट्रिय संवाद, निजी क्षेत्र र सरकार एउटै टेबुलमा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
644
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको वर्तमान आर्थिक र राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै 'शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य' शीर्षकमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ। महासंघका अध्यक्ष चन्द्र ढकालले देशको सुस्ताएको अर्थतन्त्रलाई उकास्न र विकासका नयाँ सम्भावनाहरू पहिल्याउनका लागि सबै सरोकारवालाहरूबीच यस्तो संवाद अपरिहार्य भएको बताएका छन्।
यस वृहत् संवादको मुख्य उद्देश्य राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक सुधारका कार्यहरूलाई अघि बढाउनु, लगानीको वातावरण सिर्जना गर्नु र देशको भविष्यसँग जोडिएका युवा पुस्ता (जेन–जी) को भूमिकाबारे साझा राष्ट्रिय धारणा निर्माण गर्नु रहेको अध्यक्ष ढकालले जानकारी दिए। महासंघका अनुसार कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिको रूपमा सहभागी हुने तय भएको छ।
संवादमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू, निजी क्षेत्रका प्रतिनिधि, युवा समूह, नागरिक समाज र सञ्चार क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ। पछिल्लो समय अर्थतन्त्रमा देखिएका संरचनागत चुनौतीहरू समाधान गर्न संवाद र सहकार्यको नयाँ संस्कृति बसाल्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमका लागि लक्स्मी बैंकले विशेष पहल गरेको आयोजकले जनाएको छ।