गाडी र हेलिकोप्टर प्रयोगमा निर्वाचन आचारसंहितामार्फत कडाई
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
808
Shares
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गर्दै विभिन्न प्रावधानहरू ल्याएको छ । आचारसंहिता स्वीकृत गरे पनि कहिलेबाट लागू हुने भन्ने निर्णय भने गरिएको छैन ।
आचारसंहितामा निर्वाचित दल वा उमेद्वारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ ।
यस्तै विगतमा नभएको हरित निर्वाचनसम्बन्धी आचारणको विषय राखिएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेद्वारले प्रचार-प्रसारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ ।
निर्वाचन अधिकृतको अनुमति लिई उम्मेद्वार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेद्वार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारओटा घोडा प्रयोग गर्न सक्ने व्यवस्था आचारसंहितामा राखिएको हो ।
राजनीतिक दल, उमेद्वार, पार्टीका भातृसंगठन तथा सम्बन्धित व्यक्तिले सवारीसाधन प्रयोग गर्दा विदेशी नम्बर प्लेटलाई अनुमति नदिइने आचारसंहितामा उल्लेख छ।
हेलिकोप्टर सेवा प्रयोग गर्दा आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उमेदवारको संख्याका आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रहेर गर्नुपर्ने पनि उल्लेख छ ।