सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन क्रियाशील छौँ : उपमेयर डंगोल
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
864
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलले सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महानगर निरन्तर प्रयासरत रहेको बताएकी छन् ।
शुक्रबार काठमाडौँ महानगरपालिका वडा नं ८ मा रहेको रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक्स-रे मेसिनको उद्घाटन गर्दै उपप्रमुख डंगोलले सबै नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु महानगरको प्राथमिकता रहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘स्वास्थ्य सेवा छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित वडा-वडामा सहकारी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरिरहेका छौँ। कतिपय स्थानमा ठाउँको अभावका कारण भाडामा लिएर समेत सेवा दिइरहेका छौँ र त्यसको प्रभाव सकारात्मक देखिएको छ ।’
रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रको लामो इतिहास रहेको र यस क्षेत्रमा जनघनत्व तथा सेवाग्राहीको चाप अत्यधिक रहेको उल्लेख गर्दै उनले ती सेवाग्राहीलाई प्रभावकारी सेवा दिन आवश्यक सबै संरचना क्रमशः थप्दै लगिएको बताइन्।
‘रामघाट प्राथमिक सेवा केन्द्र जहाँ धेरै लामो इतिहास भएको पहिलेदेखिनै निरन्तर स्वास्थ्य सेवा दिइरहेको र त्यहाँ हुने चाप पनि एकदमै बढी र यो क्षेत्रमा जनघनत्व पनि एकमदै धेरै सेवाग्राहीहरू हुनुहुन्छ । ती सेवाग्राहीहरूलाई पनि प्रभावकारी ढङगबाट सेवा दिने पनि निरन्तररुपमा प्रयास गरिरहेका छौँ,’ उनले भनिन् ।
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आवश्यक सबै सेवा विस्तार गर्ने क्रममा एक्स-रे सेवा शुरू गरिएको उल्लेख गर्दै उनले यसबाट धेरै सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरिन्।
यस कदमले काठमाडौँ महानगरपालिकाको सार्वजनिक स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा समेत उनले व्यक्त गरिन्।