आचारसंहिता अनुगमन शुरु: जबराको नेतृत्वमा विशेष टोली परिचालन
सामाजिक सञ्जालमा 'फेक न्यूज' फैलाउनेलाई कस्दै आयोग
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
660
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको नियमनलाई तीव्र पारेको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिम गठित 'केन्द्रीय आचारसंहिता अनुगमन समिति'को पहिलो बैठकले प्रविधिमार्फत फैलाइने मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण गर्न एउटा प्रभावकारी विशेष संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो।
समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुन शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रविधिको दुरुपयोग रोक्न नियामक निकाय, अनुसन्धान र अभियोजन गर्ने निकायहरूबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिए।
'जेन-जी' आन्दोलनपछि सामाजिक सञ्जालको भूमिका अझै महत्वपूर्ण देखिएकाले आयोगले यसपटक एआई र डिजिटल प्लेटफर्महरूबाट हुने भ्रमपूर्ण प्रचारप्रसार रोक्न दण्डात्मक र सचेतनामूलक दुवै विधिलाई एकसाथ अघि बढाउने रणनीति लिएको छ।
बैठकमा आयुक्त डा. जानकीकुमारी तुलाधरले राजनीतिक दलहरूसँगको परामर्शपछि छिट्टै आचारसंहिता पूर्ण रूपमा लागू गरिने जानकारी दिए। बैठकमा विभिन्न मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो, जसले निर्वाचनका क्रममा सामाजिक सञ्जालमा हुने आचारसंहिता उल्लंघनलाई कडाइका साथ अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।