arrow

निर्वाचन सुरक्षाका लागि एक लाख ३४ हजार निर्वाचन प्रहरी माग, माघ ५ देखि आवेदन खुला

४० दिनका लागि निर्वाचन प्रहरीको आह्वान, पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
myadi-police.jpeg

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले नेपाल प्रहरीले ठुलो सङ्ख्यामा निर्वाचन प्रहरीको भर्ना खुला गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विकास विभागले कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक नेपाली नागरिकले आगामी माघ ५ गतेदेखि माघ ९ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रहरी परिसरमार्फत आफ्नो आवेदन बुझाउन सक्नेछन्। सार्वजनिक बिदाको दिनमा समेत बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।

यस भर्ना प्रक्रियामा सहभागी हुनका लागि आवेदक १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने योग्यता तोकिएको छ। साधारण लेखपढ गर्न जान्ने, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, कुनै फौजदारी अभियोगमा सजाय नपाएको र कुनै पनि राजनीतिक दलको सदस्य नरहेको नेपाली नागरिकले यसका लागि आवेदन दिन पाउनेछन्। शारीरिक मापदण्डका हकमा पुरुषको न्यूनतम उचाइ ५ फिट ३ इन्च र तौल ५० केजी तथा महिलाको न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी हुनुपर्नेछ। महिला निवेदकको हकमा गर्भवती नभएको हुनुपर्ने अनिवार्य सर्त राखिएको छ।

निर्वाचन प्रहरी छनोटमा पूर्व नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अवकाशप्राप्त सुरक्षाकर्मी तथा यसअघि म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइनेछ। छनोट प्रक्रिया माघ ५ देखि ९ गतेसम्म सञ्चालन हुनेछ भने माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिनेछ। सफल उम्मेदवारहरूलाई माघ १५ देखि २४ गतेसम्म तालिम दिएर कार्यक्षेत्रमा खटाइनेछ। यी निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति भएको मितिबाट अधिकतम ४० दिनको रहनेछ, यद्यपि निर्वाचनको आवश्यकता अनुसार सरकारले यो अवधि हेरफेर गर्न सक्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ