arrow

परराष्ट्रमन्त्री– युरोपेली आयोगका अध्यक्ष भेटवार्ता

नेपालमाथि लगाईएको प्रतिबन्ध र पूर्वाधार निर्माणका सहयोगको आग्रह

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
EU-president.jpeg
काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले युरोपेली आयोगका अध्यक्ष जिनक्लाउड जंकरसँग गएराति ब्रसेल्समा भेटवार्ता गरेका छ । सो भेटका क्रममा बिगत लामो समयदेखि नेपालको विकास प्रयासमा सहयोग गर्दै आएको युरोपियन युनियन र नेपालको सम्बन्धका विषयमा महत्वपूर्ण कुराकानी भएको परराष्ट्र मन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।
 
त्यस भेटका अवसरमा मन्त्री डा.महतले नेपाली एयरलाइन्सको उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । युरोपियन युनियनका यति उच्च अधिकारीसँग नेपाली एयरलाइन्सको उडानमाथि लगाइएको प्रतिबन्धको फुकुवाका लागि नेपालका परराष्ट्रमन्त्रीले गराएका ध्यानाकर्षणलाई महत्वका साथ लिइएको छ ।  
 
नेपाली एयरलाइन्सहरुको हवाई सुरक्षा मापदण्ड नपुगेको भन्दै युरोपियन युनियनले विगत केही समयदेखि नेपाली हवाई उड्डयनमा प्रतिबन्ध लगाउदै आएको छ ।   हाल नेपाली एयरलाइन्सले यस्तो मापदण्ड पूरा गरेको भन्दै उक्त प्रतिबन्ध फुकुवा गर्न मन्त्री डा महतले गरेको आग्रहको जवाफमा आयोगका अध्यक्ष जंकरले यस प्रावधानको आवश्यक अध्ययन गरी नेपाल सरकारले उपलब्ध गराउने तथ्यका आधारमा पुनर्विचार गर्ने आश्वासन दिएका छन् ।  
 
उक्त भेटका क्रममा मन्त्री डा.महतले नेपालमा पूर्वाधार निर्माणका साथै भूकम्पपछिको पुनर्निर्माणका क्षेत्रमा सहयोग बढाउन युरोपियन युनियनलाई आग्रह गरे । त्यस अवसरमा युरोपमा नेपालको निर्यात प्रोत्साहन हुनेगरी बजारको पहूँच र थप सहुलियत, ठूला आयोजनाहरुका साथै पूर्वाधारमा लगानी एवम् शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा थप सहयोगका लागि आग्रह गर्दै मन्त्री डा.महतले युरोपेली युनियनले लामो समयदेखि नेपालको विविध क्षेत्रमा गर्दै आएको आर्थिक लगायतको सहयोगका लागि धन्यवाद दिए ।  
 
सो भेटका क्रममा मन्त्री डा महतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै संविधानको कार्यान्वयन एवम् आगामी केही समयमा हुन लागेका निर्वाचनहरुको बारेमा पनि जानकारी गराएका थिए । युरोपियन आयोगका अध्यक्ष जंकरले नेपालको विकास प्रयासहरुमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । उनले आगामी दिनमा युरोपियन युनियनले गर्ने सहयोगका क्षेत्रको विस्तारका सम्भावना तथा सहयोगमा बृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ