कार्य सम्पादनको परिणाम स्वीकार्न सुझाउने सिटौलाले लिए बहुमत प्रतिनिधिको माग दबाउने नीति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
917
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन् ।
उनले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताए। उनले अहिले परस्परमा पार्टीमा प्रतिस्पर्धा गर्ने समय नभएको जिकिर गरे ।
अहिले सबै एकतावद्ध भइ निर्वाचनमा जानुपर्ने समय भएको उनले बताए । पार्टीमा अहिले देखिएको परिस्थिति राम्रो नभएको भन्दै केन्द्रीय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरू लागिपरेको बताए ।
विशेष महाधिवेशन आजको आवश्यकता नभएको बताउँदै उनले नियिमत महाधिवेशन नै आजको आवश्यकता भएको बताए ।
उनले भने, ‘पार्टी केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता हो । यतिबेला पार्टीमा परस्परमा नेता, साथीहरूको बीचमा प्रतिस्पर्धा गर्ने बेलै होइन । निर्वाचनमा पार्टी एकतावद्ध भएर जाने बेला हो यो । आजसम्म जुन परिस्थिति देखिएको छ, त्यो राम्रो मानिँदैन । तथापि हामी केन्द्रीय कार्यसमितिले गरेको निर्णयमा लागिपरेका छौँ । अब राजनीति हो परिणाम जे आउँछ त्यसलाई लिएर अघि जानुपर्छ । विशेष महाधिवेशन आजको आवश्यकता होइन । आजको आवश्यकता निर्वाचनमा पार्टीभित्र देखाउनुपर्ने पूर्ण समझदारी हो । निर्वाचनको तयारीमा सबै जुट्नुपर्ने बेला हो । यस्तो बेलामा पार्टीमा खैलाबैला भएको छ, त्यो उचित छैन । पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य हो ।’
नेता सिटौलाले पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य भएको बताए ।
यसरी भनिरहँदा नेता सिटौलाले विधानअनुसार नै विशेष महाधिवेशन हुन लाग्दा भने त्यसको विरोध गर्दै हिँडिरहेका छन् । उनी विशेष महाधिवेशन भाँड्न सक्रिय भएका हुन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मागेको विशेष महाधिवेशनको बेवास्ता गर्नुले सिटौलाको राजनीतिक अभिष्ट पनि खुल्दै गएको छ ।