arrow

फुटको संघारमा युवा संघ, छुट्टै महाधिवेशन गर्ने नेपाल पक्षकाे चेतावनी

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
youba-sangh.jpeg
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए छुट्टै महाधिवेशन गर्ने चेतावनी दिएको छ । बिहिवार राजधानीमा नेपाल पक्षधरले पत्रकार सम्मेलन गरेर संघको नेतृत्व र पार्टीका जिम्मेवार नेताहरूले संघलाई हुकुमी प्रमाङ्गिको शैलीमा संचालन गर्नु, गराउनु गैर–राजनीतिक चरित्र भएको भन्दै एक हप्ताभित्र जायज मागहरू सम्बोधन नगरि उपेक्षा गरिएमा ०७४ बैशाख ९ देखि १२ गतेसम्म चितवनमा महाधिवेशन सम्पन्न गर्ने चेतावनी दिएको छ । 
 
संघकी उपाध्यक्ष दिलु पन्तले पार्टीको विधानबाट हटाईएको कुरालाई अझैपनि कायमै छ र हो भनेर संस्थापक पक्षले दलबलको आधारमा छलफल नै नगरि एकलौटी रुपमा युवा संघ कब्जा गर्न उद्त रहेको आरोप लगाईन् । उनले भनिन्,‘पार्टीको राजनीतिक लक्ष्य बोकेर आगामी देशको स्थानिय तहको निर्वाचनमा पार्टीलाई प्रमुख दलको हैसियतमा उभ्याउनको लागि परेका कार्यकर्तालाई गुटगत हिसावमा बिभाजित गरेर राजनीतिक चरित्रमाथि प्रश्न चिन्ह खडा गरिँदैछ, हामी यसमा सचेत छौँ ।’
 
उनले अघि थपिन्,‘यदि एक साताभित्र अन्तरजिल्ला कमिटि खारेज गरिएको स्थितिमा पुनः कृयाशिल गराउने काम संघका नेतृत्वबाट भएको छ, यो हामीलाई मान्य छैन्, हामी एमालेको बिचारमा र सिद्धान्तमा बाँधिएर देश र जनताको भलाईको निम्ति लागि परेका यूवा वर्ग हौँ ।’महाधिवेशनको नाम र अध्यक्ष पदको लागि मात्रै तपाईहरुको बिरोध त होईन ? भनेर पत्रकारले सोधेकोे प्रश्नको जवाफमा उपाध्यक्ष पन्तले भनिन्,‘सत्यको वकालत गर्दा कुण्ठा र पदको लागि हुन्छ भने त्यसमा मेरो भन्नु केही छैन, म एमाले पार्टीको आधिकारिक विधि र विधानलाई शिरोधार्य गर्ने मान्छे हुँ, नीति विपरित कसैले काम गर्छ र गर्दैछ भने त्यसको विपक्षमा उभिने मान्छे हुँ, हाम्रा तमाम साथीहरूको माग भनेको विवादरहित यूवा संघ बनाउने हो, हामी यसै मार्गमा अघि बढेका छौँ ।’
 
त्यस्तै संघका सचिव हस्तबहादुर शाहीले प्रेस विज्ञप्ति वाचन गर्दै केही यूवा साथीहरू विचार भन्दा पनि दलबलको आधारमा पार्टीको विधानलाई कुल्चेर अन्तरजिल्ला कमिटिलाई स्वतन्त्र संगठन हो भनेर प्रचार गर्नु आफैमा लज्जाको विषय भएको टिप्पणी गरे । त्यस्तै, अर्का सचिव नरेश शाहीले पार्टीको विधान र नियामावली कुल्चेर संघको महाधिवेशनलाई विवादमा पार्न खोजेको ओरोप लगाए ।
 
उनले भने,‘पार्टीको नियमावली विपरितका सांगठनिक संरचनाहरूलाई क्रियाशील गर्नु भनि एमाले पार्टी संगठन विभाग सचिव ज्ञानबहादुर भुजेलले पत्र लेख्नु अराजनीतिक काम हो,यस्ता कामले संगठनलाई मात्रै होईन,पार्टीलाई पनि फाईदा गर्दैन ।’ उनले फरक प्रसँगमा संविधान कार्यन्वयनको चरणमा रहेको बेला संघका यस अुनसारका सांगठनिक संरचना निमार्ण गरेर महाधिवेशनमा जानुको साटो पुरानै संरचनामा फर्किने कुरा संस्थापन पक्षको प्रतिगामी कार्य भएको आरोप लगाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ