नेपाली कांग्रेस गुट र कृपाबाट मुक्त हुनुपर्छ: पुष्पा भुसाल
कांग्रेस विशेष महाधिवेशनमा पुष्पा भुसालको माग: "पार्टीलाई कुरुक्षेत्र नबनाऔँ, युवालाई रोजगारी र महिलालाई सुरक्षा दिऔँ"
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
1.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले पार्टीलाई गुटमुक्त बनाउँदै कुनै पनि प्रकारको 'कृपा' बाट अलग राख्नुपर्ने बताएकी छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूहरूले अब गुट नचिन्ने र कसैको कृपा पनि स्वीकार नगर्ने स्पष्ट पारेकी हुन्।
महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीभित्रको आन्तरिक कलहलाई संकेत गर्दै कांग्रेस अब कुरुक्षेत्र र हिंसाबाट मुक्त हुनुपर्नेमा जोड दिइन्। "हामी चाहन्छौँ अब नेपाली कांग्रेस गुटबाट मुक्त हुनुपर्छ। हामी गुट चिन्दैनौँ, हामी कृपा मान्दैनौँ र कांग्रेसलाई थप कमजोर हुन पनि दिँदैनौँ," उनले भनिन्। पार्टीलाई संकटबाट जोगाउन र साङ्गठनिक रूपमा बलियो बनाउनकै लागि विशेष महाधिवेशन आह्वान गरिएको उनले स्पष्ट पारिन्।
नेतृ भुसालले राजनीति मात्र नभई सामाजिक मुद्दाहरूमा पनि महाधिवेशनले स्पष्ट मार्गचित्र कोर्नुपर्ने बताइन्। उनले युवाहरूका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्ने र महिलाहरूलाई सबै प्रकारका हिंसाबाट मुक्त गर्ने ठोस सन्देश यो महाधिवेशनले दिनुपर्नेमा विशेष जोड दिएकी छन्। आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन यस्ता जनपक्षीय मुद्दाहरू नै मुख्य आधार बन्ने उनको धारणा थियो।