arrow

साँडीघाँटीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
Accident-sign.jpg

बैतडी। जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८, साँडीघाँटीमा आज बिहान एउटा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ ज २२४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहका अनुसार, दुर्घटनामा ज्यान गुमाउने तीनै जना पुरुष रहेका छन्। उनीहरूको पहिचान खुल्न बाँकी रहेको र प्रहरी टोलीले सनाखत गर्ने प्रयास गरिरहेको उनले बताए। "दुर्घटना निकै भयानक छ, घटनास्थलमै तीन जनाको मृत्यु भएको पुष्टि भएको छ," प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

जिपमा कति जना सवार थिए भन्ने यकिन तथ्याङ्क नखुले पनि बाँकी सबै जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। जिप सडकबाट निकै तल खसेकाले उद्धार कार्यमा केही कठिनाइ भए पनि प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूलाई अस्पताल पुर्‍याइएको हो। घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ