arrow

निर्वाचन आयोगको दृढता : शङ्का उपशङ्का छाडौँ, तोकिएको समयमै निर्वाचन हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
ramprasad-bhandaris.jpg

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले आगामी निर्वाचन प्रभावित नहुने बताएका छन् । आयोगले सोमबार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले निर्वाचनको शान्ति सुरक्षाबारे कुनै पनि शङ्का वा आशङ्का नगर्न आग्रह गरे।

उनका अनुसार निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिनेछ। २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै भण्डारीले तोकिएको समयमै निर्वाचन हुनेमा दृढता व्यक्त गरे। "विगतमा पनि निर्वाचनको अघिल्लो दिनसम्म हुन्छ कि हुँदैन भन्ने बहस हुने गरेको थियो, तर निर्वाचन बाहेक अर्को विकल्प छैन," उनले भने।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले शान्ति सुरक्षाका विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक छलफल भइसकेको र उनीहरूले सुरक्षाको पूर्ण प्रत्याभूति दिएको जानकारी दिए। विगतमा समाजमा हतियार र द्वन्द्वको प्रभाव बढी भएको समयमा समेत निर्वाचन गराएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा त्यस्तो गम्भीर खतरा नरहेको बताए।

उनले थपे, "शान्ति सुरक्षाको सन्दर्भमा कमी कमजोरी हुन्छ कि भनेर आशङ्का गर्नुपर्ने स्थिति छैन। पहिलेका निर्वाचन भन्दा अहिलेको विशेष परिस्थितिमा सबैले सतर्कता अपनाएर निर्वाचन सम्पन्न गर्नुपर्छ।" भण्डारीले निर्वाचन व्यवस्थापनका सम्पूर्ण काम आयोगले पुरा गरिसकेको जानकारी दिँदै हाल राष्ट्रिय सभा, प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्ष गरी तीनै तहको निर्वाचनको तयारीमा आयोग एकसाथ जुटेको उल्लेख गरे। द्वन्द्व र अस्थिरता भोगेको समाजलाई स्वच्छ र निष्पक्ष निर्वाचनमार्फत लोकतान्त्रिक बाटोमा ल्याउनु नै अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ