समानुपातिकतर्फको बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता
जसपा र जनमत पार्टीका उम्मेदवारहरूको नाम फिर्ताको लर्को
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
837
Shares
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकेको समयसीमा भित्र उम्मेदवार स्वयं वा उनीहरूका वारेस उपस्थित भएर नाम फिर्ता लिएका हुन्।
आयोगका अनुसार यसरी नाम फिर्ता लिनेहरूमा सबैभन्दा बढी जनता समाजवादी पार्टीका २१ जना र जनमत पार्टीका २० जना रहेका छन्। यसबाहेक नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतका दलका उम्मेदवारहरूले पनि आफ्नो नाम बन्दसूचीबाट हटाएका छन्। विशेष गरी जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएका कारण उम्मेदवारहरूको बन्दसूची र प्राथमिकता क्रम मिलाउन नयाँ व्यवस्थापनका लागि केही नामहरू फिर्ता लिइएको सो दलले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ६४ राजनीतिक दलले गत पुस १३ र १४ गते आयोगमा आफ्नो बन्दसूची पेस गरेका थिए। उम्मेदवारहरूले नाम फिर्ता लिएपछि अन्तिम सूची सार्वजनिक गर्दा केही संख्या थपघट हुन सक्ने आयोगले स्पष्ट पारेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ।