तोरखाम नाका बन्द हुँदा खैबर पख्तुनख्वाको अर्थतन्त्र धराशायी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
2.1k
Shares
काठमाडौँ । पाकिस्तान र अफगानिस्तानबीचको व्यापारिक कोरिडोर विगत तीन महिनाभन्दा बढी समयदेखि बन्द हुँदा राष्ट्रिय तथा क्षेत्रीय स्तरमा अरबौँ रुपैयाँको आर्थिक क्षति पुगेको छ। डन समाचारका अनुसार सीमापार व्यापारमा उत्पन्न यस अवरोधले निर्यात, आपसी वाणिज्य, यातायात र राज्यको राजस्वमा निकै नराम्रो असर पारेको छ।
विशेष गरी खैबर पख्तुनख्वा प्रान्तको अर्थतन्त्रमा यसले गम्भीर धक्का दिएको छ, जहाँका व्यापारीहरू आफ्नो जीविकोपार्जनका लागि अफगानिस्तानसँगको वाणिज्यमा धेरै निर्भर रहेका छन्।
पाकिस्तान–अफगानिस्तान जोइन्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका वरिष्ठ उपाध्यक्ष जियाउल हक सरहदी र सरहद चेम्बरका सदस्य मञ्जुर इलाहीले संयुक्त प्रेस विज्ञप्तिमार्फत अफगानिस्तानमा हुने पाकिस्तानको ९० प्रतिशत निर्यात खैबर पख्तुनख्वाका नाकाहरू, विशेष गरी तोरखाम भएर हुने जानकारी दिएका छन्।
सिमेन्ट, कपडा, औषधि र निर्माण सामग्री जस्ता वस्तुहरूको निर्यात रोकिँदा सो प्रान्तले करिब २.५ अर्ब रुपैयाँको निर्यात घाटा बेहोरेको अनुमान गरिएको छ। यसका साथै व्यापारिक गतिविधिमा आएको मन्दी र भन्सार आयमा भएको कमीका कारण चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै करिब २.५ अर्ब राजस्व गुमेको छ।
प्रान्तका निर्यातकहरूले हरेक दिन ४० लाख अमेरिकी डलरभन्दा बढीको नोक्सानी भोगिरहेका छन् भने अरबौँ रुपैयाँ मूल्यका सामानहरू सीमामै फसेका छन्। औषधि लगायतका संवेदनशील सामग्रीहरूको उपभोग्य म्याद सकिन लागेकाले अपूरणीय आर्थिक क्षति हुने जोखिम बढेको छ।
व्यापारीहरूले सीमा निरन्तर बन्द हुँदा कारखानाहरू ठप्प हुने र ठूलो संख्यामा रोजगारी गुम्ने चेतावनी दिएका छन्। खैबर पख्तुनख्वाको औद्योगिक क्षेत्रको ९० प्रतिशत हिस्सा अफगान बजारमा निर्भर रहेकाले जारी अवरोधले बेरोजगारी र आर्थिक कठिनाइ बढाउनुका साथै क्षेत्रीय अस्थिरता निम्त्याउने देखिएको छ।
अझ गम्भीर विषय त के छ भने, पाकिस्तानसँगको अवरोधका कारण अफगानिस्तानले आफ्नो व्यापार इरान र मध्य एसियाली देशहरूतर्फ मोड्न थालेको छ। यसले गर्दा पाकिस्तानी व्यापारीहरूका लागि अफगान बजार स्थायी रूपमा गुम्ने र दीर्घकालीन प्रभावहरू कडा हुने देखिन्छ।
हालैको एक प्रतिवेदन अनुसार पाकिस्तान र अफगानिस्तानबीचको द्विपक्षीय व्यापार ५३ प्रतिशतले घटेर चालु आर्थिक वर्ष २०२५–२६ को पहिलो ६ महिनामा ५९ करोड ४० लाख डलरमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १.२६ अर्ब डलर रहेको थियो। समग्रमा यस नाकाबन्दीले यस क्षेत्रको व्यवसाय, राजस्व र रोजगारीमा अत्यन्त हानिकारक प्रभाव पारेको छ।