विघटित प्रतिनिधि सभा पुनःस्थापना हुने सम्भावना छः सभामुख घिमिरे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
918
Shares
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना रहेको बताएका छन् ।
संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनर्स्थापना हुने सम्भावना रहेको बताएका हुन् ।
मंगलबार झापा क्षेत्र नं २ मा आयोजित अन्तरक्रियामा सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्याउने काम गरिएको पनि दोहोर्याए ।
उनले संविधान र कानूनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढिरहेको दाबीसमेत गरे ।
सभामुख घिमिरेले भने,‘भदौ २७ गते राति करिव ११ बजेको आसपासमा संसद जबरजस्त भंग गरिएको छ । संविधान त्यस मानेमा लिकभन्दा बाहिर लगिएको छ। तर सभामुखको संविधान र कानूनसम्मत अवधि रहेकाले गर्दा अब हुने भनिएको आम निर्वाचन २१ फागुन भन्दा अगाडि फागुन ५ गतेसम्म अवधि रहेकाले गर्दा मैले सोही पदीय हैसियतमा बस्नुपरेको हो । भोली संसद पुनर्थापनाको पनि सम्भावना छ । जुन कुरा मैले अघि पनि प्रस्तुत गरिसकेको छु । अब भोलि के हुने भन्ने बारेमा भोलीको परिस्थितिले तय गर्छ । खासगरी म सभामुख हुन्जेल मैले त्यही भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा म विचार र व्यवहारमा स्पष्ट भएर तपाईंहरूका अगाडि कुरा राख्न चाहन्छु ।’
सभामुख घिमिरेले आगामी निर्वाचनमा भाग लिने वा नलिने भन्नेकुरा पनि पदीय जिम्मेवारीका कारण आफू टुंगोमा पुग्ने अवस्था नरहेको समेत स्पष्ट पारे ।