आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्न सक्छः अध्यक्ष लिङदेन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
761
Shares
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउनसके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिवद्धता जनाए ।
उनले सामान्य रुपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरू एक भइरहेकाले यो असम्भव नरहेको बताए ।
राप्रपामा समाहित हुनेक्रम तीब्र रुपमा बढेर गएको बताए ।
०६२/०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको दाबी गरे ।
उनले भने, ‘आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पहिलो पार्टीको रुपमा हामी ले जिताउन सक्छौँ। पहिलो पार्टी बनाउनुपर्छ । सामान्य आँखाले हेर्यो भने कठिन जस्तो, असम्भव जस्तो लाग्छ तर आज तपाईंहरू हेर्नुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमा २०५१ सालको निर्वाचन बाहेक राप्रपा कहिले दुईटा, कहिले तीनटा गरी अनेक खण्डमा विभाजित भएर चुनावमा गयो । पहिलोपल्ट राष्ट्रिय प्रजातन्त्र पार्टी एउटै राप्रपा पार्टीमात्रै भएर चुनावमा जाँदैछ । राप्रपामा समाहित हुने क्रम तीब्र रुपमा बढेर गएको छ । २०६२-२०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको छ ।’
अध्यक्ष लिङदेनले आफू अध्यक्षमा रहँदै राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापना भएको हेर्न चाहेको बताए ।
आगामी दिनमा आफू राजतन्त्र पुनःस्थापनाका लागि प्रतिवद्ध रहने भन्दै उनले आगामी निर्वाचनमा राप्रपालाई सबैभन्दा ठूलो दल बनाउने गरी निर्वाचनमा लागन आग्रह गरे।