कांग्रेसको विशेष महाधिवेशन सफल पार्ने एक स्तम्भ मनोजमणि
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
6k
Shares
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनको पृष्ठभूमिमा जब नेपाली कांग्रेसभित्र तीव्र बहस, गुटगत दौडधूप सतहमा देखिएको थियो, त्यहीँ दौडधूपमा मनोजमणि आचार्यको नाम भने फरक ढंगले चर्चामा रह्यो ।
नेपाल विद्यार्थी सङ्घका पूर्व महामन्त्री तथा नेपाली कांग्रेसका युवा नेता आचार्य विशेष महाधिवेशनको तयारी र संरचनागत निर्माणका आधारस्तम्भमध्ये एक हुन् ।
विशेष महाधिवेशनको सबैभन्दा संवेदनशील र निर्णायक संरचना मानिने व्यवस्थापन समिति—त्यसको संयोजकका रूपमा आचार्यले खेलेको भूमिका पर्दा पछाडिको भए पनि मुख्य थियो । कार्यक्रमको ढाँचा, सहभागिता, संयोजन, समन्वय र विश्वास निर्माण—यी सबैको मेरुदण्डमा उनी देखिन्थे । विशेष महाधिवेशन सम्भव हुनुमा देखिने ‘पिलर’ मध्ये उनी एक मजबुत स्तम्भ बने।
लामो समयदेखि नवनिर्वाचित सभापति गगनकुमार थापासँग निकट रहेर संगठनात्मक काममा सहजीकरण गर्दै आएका आचार्यको राजनीतिक पहिचान फराकिलो घेराभित्र सबैलाई मिलाउने, भूमिकामा राख्ने र अगाडि बढाउने क्षमता खास हो । यही कारण जिम्मेवारी बाँडफाँटको बेला आफूलाई पछाडि राखे । अरु साथी अगाडि बढ्दा उनले गरेको त्याग कम थिएन ।
उद्घाटन समारोहदेखि बन्दसत्रसम्म, हलभित्र एउटा दृश्य बारम्बार दोहोरियो—गगन र विश्वप्रकाश शर्मापछि सबैभन्दा धेरै भेटिने, बोलाइने र व्यस्त देखिने नेतामध्ये एक थिए मनोजमणि महाधिवेशन प्रतिनिधिहरूका मन–मनमा बसेका, सुन्ने र बुझ्ने नेताका रूपमा उनको उपस्थिति प्रभावशाली थियो।
तिनै नेता चुनावी प्रक्रियामा कुनै पनि पदमा मनोनयन नगरी बाहिर बसे। न त दबाब, न त गुनासो । बरु स्पष्ट सन्देश :“म पद जित्न होइन, राजनीति जित्न हिँडेको मान्छे हुँ।”
आचार्यको निर्णयले एउटा गहिरो सन्देश दिएको छ -राजनीति केवल कुर्सीको खेल होइन, भरोसा, निरन्तरता र मूल्यको अभ्यास पनि हो ।
विशेष महाधिवेशनको यो यात्रामा मनोजमणिको नाम पदसँग जोडिएन । प्रक्रिया, विश्वास र भविष्यसँग जोडियो । सायद यही कारण हो-उनी मौन रहे । हरेक जिम्मेवारीमा अग्रपंक्तिमा रहे ।