आत्तिन थाल्यो देउवा पक्षः विशेष महाधिवेशनका आठ सय ८५ हस्ताक्षरकर्ता फर्किएको भनाइ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
1.2k
Shares
काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कार्यकालका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका आठ सय ८५ हस्ताक्षरकर्ताहरूले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताका छन् ।
शुक्रबार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका खड्काले यस्तो बताएका हुन् । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि आठ सय ८५ हस्ताक्षर कर्ताहरूले हस्ताक्षर फिर्ता लिएको बताए ।
हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाउनुभएको बताए । विशेष महाधिवेशन भेला भन्दा पहिला र पछिको हस्ताक्षर आफूहरूसँग रहेको उनको भनाइ छ ।
उनले भने, ‘हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये आठ सय ८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ । मुख्यसचिवले भेला भन्दा पहिलाको पनि र पछिको पनि हस्ताक्षर छ ।’
विशेष महाधिवेशनले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ । हस्ताक्षरकर्ता कसरी फिर्ता हुन मिल्छ र ? केही राजनीतिक विष्लेषकले भनिरहेका छन् - हस्ताक्षर गरेपछि सकियो । त्यो मतदान गरेजस्तै हो । मतदान गरेपछि जतासुकै गए पनि मत फिर्ता लिन्छु भन्ने हुँदैन ।
वरिष्ठ अधिवक्ताहरूलेसमेत भनिरहेका छन् कि हस्ताक्षर भनेको मत हो, मत हालेपछि फिर्ता लिन मिल्दैन ।