विधान मिच्ने देउवा पक्षको निर्वाचन आयोगलाई धम्की, आधिकारिकता नदिए देशभर आन्दोलन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नेता पूर्णबहादुर खड्काले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधान विपरीत निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिए ।
जबकि विधानअनुसार विशेष महाधिवेशन नगरेर देउवा पक्षले पार्टीको विधान मिचिसकेको छ ।
उनले पार्टीको केन्द्रीय कार्यसमितिबाहेक कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरू नै आधिकारिक भएको जिकिर गरे ।
उनले भने, ‘पार्टीको विधान, संविधान र निर्वाचनसम्बन्धी ऐन र दलसम्बन्धी ऐनको आधारमा भन्दा तलमाथि भएर यदि निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि बडारिएको कालो बादललाई साथ दिँदै आयोगले नेपाली कांग्रेसको विधानविपरित अन्यथा निर्णय गर्यो भने देशभर आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुने छैन । प्रत्येक ठाउँमा नेपाली काँग्रेस चारतारे झण्डा र रुख लिएर हामी अगाडि बढ्छौँ । हामीलाई निर्वाचन आयोगले त्यस्तो गर्छ भन्न लागेको छैन । आशंका, अविश्वास र बाहिर आएका भ्रमहरूका आधारमा भनेका हौँ ।’
पुस अन्तिममा काठमाडौँमा सम्पन्न पार्टीको विषेश महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस विभाजित भएको छ । पार्टीको संस्थापन पक्ष र विशेष पक्ष वैधानिकताको लडाइँमा छन् ।